यी हुन् नेकपा फुटाउने पर्दाभित्रको कांग्रेसका ‘हिरो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाएको आरोप खेप्नु परेको छ । देउवाका कारण प्रधानमन्त्री केपी ओलीले नेकपा फुटाएको आरोप लगाउनेहरू धेरै छन् । चियापसलहरूमा देउवाले नेकपा फुटाएको भनेर धेरैका कुरा सुन्न पनि पाइन्छ । नेकपा चिर परेको छ । तर, कानूनी रुपमा विभाजन भएको छैन ।

सभापति देउवाले ओलीलाई संवैधानिक परिषदको बैठकमा साथ नदिएको भए सायद नेकपा फुट्ने सम्भावना निकै कम थियो । त्यति मात्रै होइन ओलीले संसद विघटन गर्दा पनि देउवासँग परामर्श गरेका थिए । देउवाले ग्रीन सिग्नल दिएपछि ओलीले हतार हतारमा संसद विघटन गरेको आरोप पनि छ ।

हुन त ओलीलाई भारतको दवावमा संसद विघटन गरेको भनेर आरोप पनि लागेको छ । भारतले अहिलेसम्म नेपालको प्रतिनिधि सभा विघटन भएको विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न नमानेका कारण कतै भारतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ त दिएको छैन भनेर आशंका पनि बढेको छ ।

भारतले संसद विघटन गराउन आफ्ना दूतहरूलाई नेपाल पठाएको भनेर आरोप पनि लागेको थियो । भारतले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बरु चीनले नेकपा फुटेकोमा चिन्ता जनाएको छ । प्रतिनिधि सभा विघटन भएकोमा पनि चीन चिन्तित भएको छ । चीनले अहिले पनि नेकपा मिलेर जाओस् भन्ने पक्षमा छ । चीनका दूतहरू काठमाडौंमा नेकपाका नेताहरूलाई भेटेर मिल्न दवाव सिर्जना गरिरहेका छन् ।

कांग्रेसले यो मौकालाई सहि रुपमा सदुपयोग गर्नुपर्ने बेला आफैभित्र झगडा गरेका छन् । संसद विघटनको विषयमा एउटै स्वर बनाउन सकेका छैनन् । यसले गर्दा नेकपा फेरि एकजुट हुने हुन् कि भन्ने अर्को आशंका उब्जिएको छ । नेकपा एक हुँदा कांग्रेसका नेता कार्यकर्ताहरू नुन खाएका कुखुरा जस्तो भएर बसेका थिए । नेकपा फुटेपछि बल्ला कांग्रेसभित्र श्वास आएको छ । तर, राष्ट्रपतिको लोभमा रामचन्द्र पौडेलले फरक बहस चलाउँदा कम्युनिस्टहरूलाई फाइदा हुने देखिएको छ ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पौडेललाई राष्ट्रपति पद दिन्छन् भन्ने भ्रममा पर्न नहुने सुझाव नेताहरूको छ । नेकपा फुटाउन भूमिका खेलेको आरोप लागेका देउवाको हाइट बढेको छ । अबको १४औँ महाधिवेशनमा देउवालाई सभापति जित्न झन् सजिलो भएको छ । त्यति मात्रै होइन देउवालाई प्रधानमन्त्री बन्ने अवसर पनि जुटेको छ । देउवालाई अवसर आएको देखेरै पौडेलले संसद पुनःस्थापना र प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

संसद पुनःस्थापना भएपनि देउवालाई नै फलिफाप हुनेछ । बरु संसद पुनःस्थापनाभन्दा निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुनेछ । कांग्रेस सत्तामा जाने ठूलो सम्भावना छ । त्यसो भयो भने देशको अवस्थालाई कांग्रेसले सुधार गरेर लैजान सक्नेछ । यो विषयमा कांग्रेसले जिम्मेवार भएर ध्यानुपर्ने कार्यकर्ताहरू सुझाव छ ।

Published : Saturday, 2021 January 23, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया