कम्युनिस्ट गठबन्धन बनाएका प्रचण्डलाई कांग्रेसका रमेश लेखकले दिएको जवाफ

मुलुकको राजनीतिक । खास गरेर सत्ताको परिवर्तन भएको छ । एउटा राजनीतिक गठबन्धन भत्काइएको छ र, अर्को गठबन्धन निर्माण भएको छ । सत्ता समीकरण फेरिएको यस अवस्थामा यसको प्रभाव यो सम्मानित सदनमा पनि अभिव्यक्त भएको छ । अहिले हाम्रो बेन्चहरू, सिटहरू परिवर्तन भएका छन् । तदअनुरुप हाम्रा भूमिका पनि परिवर्तन भएका छन् । अहिलेको राजनीतिक घटना क्रममको बारेमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाहरूको बारेमा र परिवर्तित राजनीतिक अवस्थाका बारेमा आफ्ना धारणाहरू छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले यसका बारेमा निर्णयहरू गरेका छन् । र, हामीले आज नै नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक र संसदीय दलको बैठक गरेर पनि अहिलेको वर्तमान परिस्थितिका बारेमा हामीले केही निर्णयहरू गरेका छौं ।

म परिवर्तित राजनीतिक घटनाको सन्दर्भमा हाम्रा पार्टीका धारणा, मेरा धारणा, पार्टीका निर्णय र दलका निर्णय सम्मानित सदनमा राख्न अनुमति चाहन्छु ।

सबैभन्दा पहिला सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले एउटा सत्ता गठबन्धन भत्काउनुभएको छ । अर्को सत्ता गठबन्धन बनाउनुभएको छ । म यो सत्ता गठबन्धनको पूर्ण सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । आज संविधानको रक्षा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यही संविधान र यही व्यवस्थाका माध्यम र मार्फतले मुलुकमा दिगो शान्ति र सुशासन, विकास र समृद्धिको एजेन्डा लक्ष्य प्राप्त गर्ने र मुलुकमा स्थिरता प्रदान गर्ने आजका मुख्यधेय हुन् । मुख्य उद्देश्य हुन् । हाम्रा मुख्य लक्ष्य हुन् ।

यो नयाँ गठबन्धन यी लक्ष्यहरूमा सफल हुन सकोस् । मुलुकमा अमनचयन कामय हुन सकोस् । दिगो शान्ति होस् । शासन होस् । समृद्धि होस् । विकास होस् । म यो कामना गर्न चाहन्छु ।

यसका साथसाथै माननीय मन्त्रीजीहरू । कतिपय माननीय मन्त्रीजीहरू । निरन्तरता दिइराख्नुभएको छ । पहिला हुनुहुन्थ्यो । अहिले पनि हुनुहुन्छ । उहाँहरूलाई थप सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । कतिपय साथीहरू नवनियुक्त हुनुहुन्छ । पहिला पहिला हुनुहुन्थ्यो बीचमा ईन्टरभलपछि फेरि आउनुभएको छ । उहाँहरूको पनि सफलताको कामना गर्न चाहन्छु । र, कतिपय नयाँ साथीहरू हुनुहुन्छ । उहाँहरूको पनि सफलताको कामना गर्न चाहन्छु । तपाईहरूले आ–आफ्नो मन्त्रालयमा गर्ने कामहरू प्रशंसाका विषय बन्न सकुन् । तपाईहरूले आफ्नो उद्देश्य पूरा गर्न सक्नु होला । यो सदनमा तपाईहरूले ठीक गर्नुभयो भन्ने स्थिति हामी सबैले भन्नुपर्ने स्थिति बनोस् । र, सामूहिक रुपले यो सदनकाप्रति सरकार जवाफदेही र जिम्मेवार हुँदै, नेपाली जनताप्रति जवाफदेही र जिम्मेवार बन्न सकोस् म शुभकामना व्यक्त गर्न चाहन्छु ।

शुभकामनापछि अहिलेको परिवर्तित राजनीतिक घटनाक्रमका बारेमा नेपाली कांग्रेसले निर्माण गरेका धारणा र निर्णयका बारेमा म आग्रह गर्न चाहन्छु । हामीले एउटा विशेष परिस्थितिमा गठबन्धन बनाएका थियौँ । जसमा नेपाली कांग्रेस सामेल थियो । सहमत थियो । र, त्यो विशेष राजनीतिक परिस्थितिमा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र मैले अगाडि नै निवेदन गरे जस्तो मुलुकमा दिगो शान्ति सुशासन, विकास र समृद्धि प्राप्त गर्ने र राजनीतिलाई स्थिरतापूर्वक अगाडि बढाउने हाम्रा बीचमा साझा समहमति थिए । साझा लक्ष्य हामीले कायम गरेका थियौँ । त्यो सहमति र लक्ष्यलाई प्राप्त गर्नका निमित्त विगतमा बनेको त्यो गठबन्धनलाई हामीले निरन्तरता दियौँ । र, निर्वाचनसम्म त्यो गठबन्धनलाई हामीले लिएर गयौँ । निर्वाचनका बेलामा पनि हामीले त्यही प्रतिवद्धता दोहोर्‍यायौँ । यो गठबन्धनलाई हामी निरन्तरता दिन्छौँ । यसैको माध्यमबाट संविधानको रक्षा गर्छौं । यसैका माध्यमबाट मुलुकमा विकास र समृद्धि गर्छौं । संविधान प्रदत्त राजनीतिलाई सुदृढ गर्छौं भनेर हामीले हाम्रा बीचमा नेताहरू मात्रै बसेर गरेको प्रतिवद्धता होइन । हामीले जनताका बीचमा त्यो प्रतिवद्धता गरेका थियौं । यो गठबन्धनलाई निरन्तरता दिन्छौँ । र, यी हामीले बचन दिएका प्रतिवद्धताहरू पूरा गर्छौैं भनेर नेपाली जनताका माझमा कसम खाएका थियौँ ।

त्यसपछि हामी संसदमा आयौँ । प्रदेशसभाहरूमा आयौँ । र, सरकार निर्माण गर्ने क्रममा ती प्रतिवद्धताहरूलाई निरन्तरता दिने गरेर हामी अगाडि बढ्यौँ । म आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेसले यी सबै पछिल्ला दिनहरूमा गठबन्धनको मूल्य र मान्यता संस्कृतिअनुसार र गठबन्धनमा भएका दलहरूका बीचको सहमतिलाई ईमान्दारीपूर्वक प्रतिवद्धताका साथ, निष्ठाका साथ, मर्यादाका साथ पालना गरेको छ । हामीले त्यो पालना गरिरहेका थियौँ । तर, पछिल्लो समयमा घटना कस्ता देखिए भन्दा गठबन्धनको मूल्य, मान्यता एकातर्फ छ । गठबन्धनमा भएको प्रतिबद्धता एकातर्फ छ । र, गठबन्धनका प्रति नै अविश्वास व्यक्त हुने गरेर गतिविधिहरू अगाडि बढे ।

प्रधानमन्त्रीजीले अहिले भरखरै एउटा कुरा भन्नुभयो । म त्यो कुरासँग सहमत छु । व्यक्तिगत रुपले हाम्रा सम्बन्धहरू यथावत् छन् । व्यक्तिगत रुपले हामी एकअर्काप्रति सम्मान छ । म पनि व्यक्तिगत रुपले आग्रह गर्न चाहन्छु । म यो सदनमा रहनुभएका सबै सम्मानित नेताहरूका प्रति मेरो व्यक्तिगत सम्मान छ । मर्यादा छ । संभाव छ । म मेरो पार्टीको नेता मात्रै होइन । अन्य पार्टीका नेता पनि पार्टीका अध्यक्ष हुनुहुन्छ । सभापति हुनुहुन्छ । भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । दलका नेताहरू हुनुहुन्छ । सबै साथीहरूका प्रति मेरो अत्यन्तै ज्यादा मर्यादा छ । सम्मान छ । तर, राजनीति मर्यादा र सम्मानले मात्रै पुग्दैन । राजनीतिमा अरु पनि थोक चाहिन्छ भनेर भरखरै मेरो आदरणीय नेता प्रधानमन्त्रीजीले भन्नुभएको विषयलाई स्वीकार गर्दै मैले के आग्रह गर्न चाहन्छु भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर गठबन्धनमा भएका सहमतिहरूलाई तोडेर एकतर्फ रुपले अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो । त्यो हाम्रो ठहर हो । जनताका बीचमा गरेका बाचाहरू, नेपाली जनताको बीचमा बोलेका बचनबद्धताहरू ती प्रतीज्ञाहरूलाई बेवास्ता गर्दा नेपाली कांग्रेसप्रति मात्रै बेवास्ता होइन । नेपाली कांग्रेसमाथि मात्रै विश्वासघात होइन । यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध मात्रै कुठाराघात होइन । गएको निर्वाचनमा जनताको बीचमा गरेको प्रतिबद्धता व्यक्त गरेर अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो भन्ने हाम्रो ठहर हो । यसरी नेपाली जनताको जनमतको अपमान गर्दै कपोल्कल्पित कथाहरू तथाकथित कारणहरू सानातिना मुद्दाहरू उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गर्ने जुन काम गरियो त्यसलाई हामीले कठोरतापूर्वक निर्ममतापूर्वक राजनीतिक विषय भएको हुनाले भन्ने पर्‍यो यो राजनैतिक बेइमानी हो । भनिएको हो ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस संसदीय दलले आज बिहान बसेर गरेको निर्णय जे सुन्नुभयो त्यो सत्य हो । र, मफेरि एक पटक भन्छु । यो व्यक्तिगत सम्बन्धमा आधारित भएर निर्धारण गरिएको निर्णय होइन । यो व्यक्तिगत सम्बन्धबाट निर्धारित होइन । आजका दिनमा पनि व्यक्तिगत सम्बन्ध सम्मान र मर्यादा मेरो नेता प्रधानमन्त्रीप्रति उत्तिकै छ । तर, राजनीतिक रुपले इमान भएन । इमान नभएको हुनाले बेइमान हुने हो । यती मात्रै होइन । हामीले एउटा आग्रह गरेका छौँ । हामीले के भनेका छौँ भने यो गठबन्धन भत्काउने काम गठबन्धनको मूल्य र मान्यता विपरित हो । गठबन्धनको संस्कृति विपरित भो । अविश्वसनीय ढंगबाट यो काम गरियो । गठबन्धन भत्काइयो । यसले के गर्‍यो ? यसले देशलाई अन्यौलता र अस्थिरतातिर तर्फ धकेल्यो । मुलुकलाई एउटा श्रृङ्खलाबद्ध अस्थिरतातर्फ जाने खतरा बढेर गयो । हामीले जनमतको कदर नगर्ने काम भयो । राजनीतिक रुपले बेइमानी भयो भन्ने यो हाम्रो मान्यता हो । आग्रह गर्न चाहन्छु ।

हामीले गठबन्धनका प्रति इमान्दारिता, सदायसयता, प्रतिवद्धता निरन्तर देखाएका छौं । निरन्तर त्यसमा अगाडि बढेका छौँ । र, हामीले इमान्दारिता, प्रतिबद्धता र निरन्तर सदासयता देखाउँदै पनि यसै गठबन्धन भत्किँदा यो नेपाली कांग्रेसका प्रति विश्वासघात हो भन्ने पनि हाम्रो ठहर हो । त्यो पनि हामीले भनेका छौँ । यो सँगसँगै हामीले यो कारणले यसरी अकारण विनाकुनै कारण विनाकुनै औचित्य र कमसेकम आपसमा छलफल गरेर सम्वाद गरेर समाधान हुन सक्ने विषयहरूलाई पनि अतिरन्जनपूर्ण ढङ्गले बढाएर चढाएर एकजना दुईजना मन्त्रीहरूको भागमा आफ्ना सबै कमजोरीहरू फालेर आफू उम्किने जुन प्रयत्न भयो । त्यो आफैमा एउटा अशोभनीय कार्य भयो । यी सबै कारणहरू, यी सबै कारकहरू परिस्थितिका बीचमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिबाट पनि र हाम्रो संसदीय दलको बैठकबाट हामीले हिजोका दिनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूलाई दिएको समर्थन फिर्ता लिएका छौँ भन्ने निर्णय पनि गरेका छौँ । यो निर्णय गरेर नेपालको संविधानको धारा १०० को उपधारा २ सँग सम्बन्धित यो विषय भएको हुनाले सभामुखको ध्यानाकर्षण हुने निर्णय गरेका छौँ ।

म प्रधानमन्त्रीको पनि संविधानको धारण १०० को उपधारा २ तर्फ ध्यानाकर्षण गर्न चाहन्छु । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि हामी प्रतिपक्षमा बस्ने निर्णय गरेका छौँ । आजैका मितिदेखि प्रतिपक्षमा बस्न प्रारम्भ गरेका छौँ । नेपाली कांग्रेसले सत्ता सन्चालन गर्दा, सरकारमा बस्दा जसरी संविधान सम्मत कानून सम्मतरुपले नेपाली जनताको हितमा राष्ट्रको हितमा सबै राम्रा कामहरू अगाडि बढाउँदै गरेको थियो । हामीले त्यो विषयमा इतिहाँस स्थापना गरेका छौँ । नेपाली कांग्रेसले प्रतिपक्षमा बस्दा लोकतन्त्रमा संसदीय व्यवस्थामा कस्तो हुन्छ ? त्यो पनि हामी नमूना स्थापित गर्ने छौँ । त्यो इतिहाँसलाई निरन्तरता दिने छौँ । त्यो पनि हाम्रो प्रतिवद्धता हो । हामी रचनात्मक हुने छौँ । हामी राम्रा काममा सहयोगी हुने छौँ । आफूले गरेका बचनहरूमा इमान्दार हुने छौँ । प्रतिवद्ध हुने छौँ । सदाशय हुने छौँ । राम्रा कामको तारिफ गर्ने छौँ । तर, के मात्रै आग्रह गर्न चाहन्छु भने यी सबै कुराबाट हटेर कांग्रेसले सरकारको राम्रैसँग ध्यानाकर्षण गर्ने स्थिति नबनोस् । त्यसमा हामी रचनात्मक रुपले विरोधी हुने छौँ । यो आग्रह गर्न चाहन्छु ।

नेपाली कांग्रेसले यसरी प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । संविधानले निर्वाचन प्रणाली मिश्रित गर्ने वित्तिकै राजनीतिक परिणाम के हुने भयो भने कुनै एक दलको बहुमत नआउने स्थिति भयो । कुनै पनि एक दलको बहुमत नआउने वित्तिकै, मैले के आग्रह गर्ने गरेको छुभने हाम्रो निर्वाचन प्रणालीको व्यवस्थाले गठबन्धनको संस्कृतिलाई स्वत: स्वभाविक रुपले आमन्त्रण गर्छ । गठबन्धन गर्नै पर्छ । गठबन्धनको संस्कृतिको विकास हामीले गर्नै पर्छ । गठबन्धन गर्दा कहिले गठबन्धन बन्छन्, कहिले गठबन्धन भत्किन्छन्, कहिले गठबन्धन फेरिन्छन्, त्यसलाई धेरै अनर्थका रुपमा लिनु हुँदैन । गठबन्धनहरू बन्छन्, फेरिन्छन् त्यसमा दुबिधा छैन ।

अहिलेको गठबन्धन जुन फेरियो, अहिलेको गठबन्धन जुन भत्कियो, जुन नयाँ निर्माण भयो । के कारण भयो होला भनेर मैले खोजी गर्ने कोशिस गरे । खोजी गर्दा यो गठबन्धनमा अहिले भत्किएको कुराले केही मौलिकिए आधारभूत कुराहरू उठेका छन् भन्ने मलाई लाग्छ । त्यो प्रश्न मेरो होइन । त्यो प्रश्न नेपाली कांग्रेसको होइन । आम नेपाली जनताका बीचमा केही जिज्ञासा छन्, केही चासो छन् । प्रश्नहरू छन् । यो गठबन्धन किन भत्किएका छन्् । मैले हेर्दा एउटा दस्तावेज प्राप्त गरेँ । नयाँ गठबन्धन किन बन्यो भन्दा २०८० साल फागुन २१ गतेका दिनमा एउटा दस्तावेज प्रकाशित भएको छ । सम्मानित चार जना मेरा आदरणीय नेताहरूले दस्तखत गर्नुभएको छ । अरु ३ जना नेताहरूको दस्तखततर्फ मेरो खासै ध्यानाकृष्ट भएन । त्यो दस्तावेजमा प्रधानमन्त्रीको स्वयं दस्तखत छ । त्यो दस्तावेज मैले हेर्दा किन यो नयाँ गठबन्धन गर्‍यो होला भन्दा चार वटा कुरा मैले देखे । गठबन्धन निर्माणको दस्तावेजमा किन गठबन्धन नयाँ बन्दै छभन्दा एउटा कुरा उल्लेख रहेछ । जनचाहना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्षा पूरा गर्न भनेर लेखिएको रहेछ । एउटा त जनचाहना अनुसार, सुशासनको आकांक्षा, अर्को विकासको आकांक्षा, अर्को सामाजिक न्यायको आकांक्षा पूरा गर्न नयाँ गठबन्धन बनाए भनेको रहेछ । अनि मलाई सम्झना भयो । प्रधानमन्त्री पोहरसाल पुसको १० गते प्रधानमन्त्री हुनु भएको हो ।

आज १४ महिना पूरा भएछ । १५ महिना लाग्दैछ । १५ महिनापछि सुशासन पनि भएन, विकास पनि भएन, सामाजिक न्याय पनि भएन भनेर आफै भनिरहनु भएको छभने नेपाली जनताले त सोध्लान् त्यो सो भए यो १५ महिना तपाईले के गर्नुभयो भनेर सोध्न पाउँछ कि पाउँदैन ? यो नेपाली कांग्रेस र रमेश लेखकले भनेको होइन । फागुनको २१ गते प्रकाशित भएको दस्तावेजमा प्रधानमन्त्रीजीले स्वीकार गर्नुभयो, सुशासन पनि भएन देशमा, विकास पनि भएन, सामाजिक न्याय पनि भएन । अब प्रश्न उठ्छ कि उठ्दैन ? त्यसो भए तपाईले १४ महिना के गर्नुभयो ? आज म भ्रमित पनि भएँ । म धेरै बुझ्ने जान्ने मानिस होइन । यती ज्यादा भ्रमित हुँदैन थिएँ । जति आज भएँ । एकातिर फागुनको २१ गते प्रधानमन्त्रीजीले देशमा सुशासन पनि छैन, विकास पनि छैन, सामाजिक न्याय पनि छैन भनेर हस्ताक्षर गर्नुभएको छ । अहिले एकछिन अगाडि मैले सुन्दा यात उहाँले गरेका बडेबडे कामको फेहरिस्त सुनाउनु भयो । उहाँले फागुन २१ गते हस्ताक्षर गर्नुभएको कुरा साँचो हो कि अहिलेको फेहरिस्त साँचो हो म बडो गम्भीर भएँ । यस्ता खालका काल्पनिक र कपोल्कल्पित कुरा गरेर राजनीतिमा झुक्काउन सकिदैन । एकछिनको लागि प्रयास गर्न सकिएला । हमशा सकिदैन ।


अर्को के गर्नुभएको रहेछ भने, सरकारको कामलाई प्रभावकारी बनाउने । यो २१ गतेको कुरा गर्दैछु । सरकारको कामलाई प्रभावकारी बनाऔँ, थप प्रभावकारी बनाऔँ । त्यसो भए १४ महिना प्रभावकारी भएन । यो मेरो कुरा होइन । प्रधानमन्त्रीले हस्ताक्षर गर्नुभएको कागजको कुरा हो ।

अर्को कुरा भन्नुभएको रहेछ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति स्थापना गर्ने । अब मैले मेरो आदरणनीय नेता देशकै नेता सम्माननीय प्रधानमन्त्रीलाई बढो निवम्रतापूर्वक सोध्न पाउँछु ? अनुमति हुन्छ भने ? संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भने नेपाली जनताले नेपाली कांग्रेसप्रति न्याय गर्नुभयो ? विश्वास गर्नुभयो । इमान गर्नुभयो ? र यो गठबन्धनलाई पुष्टि गर्न यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन ? कसले रोक्यो ? इतिहाँसतिर फर्केर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । कतिपयसँग । तर, सत्यलाई डगमगायो भने त्यो इमान हुँदैन । सम्मानित नेता बेइमानीको शब्दले तपाईको गम्भीर रुपले आकर्षित भयो । तर, इमानको कुरा कांग्रेसले पनि गर्न पाउँछ । कि गर्न पाउँदैन् ?

सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुङ्गो पाएन ? त्यस कारण गठबन्धन भत्कियो । त्यसको जिम्मा कांग्रेसले लिइदिनुपर्ने ।

अर्को चौथो कुरा छ । संघीयता कार्यान्वयन सम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । सबै प्रदेशका सरकारहरू पनि प्रभावकारी भएनन् । गर्नु के भयो त ? यो सबै कुरा भएन । सत्य कुरा पनि हो । कतिपय सत्य पनि छ । किन भने दुई वटा अधिवेशनमा एउटा मात्रै विधेयक पारित गरियो यहाँबाट हामीले । अनि कसले रोक्यो ? कांग्रेसले ?
अब यती कुरा भनिसकेपछि मैले एउटा कुरा भन्न पाउँछु कि पाउँदिन ? शब्दका लागि क्षमा माग्दै । यो ८ बुँदे फागुन २१ गते जारी भएको घोषणा पत्र स्वयम् प्रधानमन्त्रीजीको अकर्मण्यता, असक्षमता र अयोग्यताको प्रमाणपत्र होइन । यती भनिसकेपछि अब फलाना मन्त्रीले काम गर्न दिएन, फलाना मन्त्रीले बजेटमा कन्जुस्याइँ गर्‍यो । फलाना मन्त्रीले मलाई हेर्दा राम्ररी नमस्कार गरेन ।

फलाना पार्टीको फलाना दस्तावेजमा फलाना कुरा लेख्या हुनाले मैले गठबन्धन छाड्नु पर्‍यो भन्ने ठाउँ छ ? गर्न नसकेको कुराको जिम्मेवारी कसले लिने ? मन्त्रीले ? सरकार भनेको के हो ? संविधानमा हामीले के लेखेका छौँ । संविधानमा के लेखेका छौँ भने मन्त्रीपरिषद भनेको सामूहिक संस्था हो भनेका छौँ । मन्त्रीहरू । मैले पहिला पनि भने आफ्नो मन्त्रालयका प्रति जिम्मेवार हुनु होला भनेर । मैले थोरै संविधानको कुरा राखेर भनेको हो । मन्त्रीजीहरू आफ्नो मन्त्रालयका प्रति कामका प्रति जवाफदेही बन्नु हुन्छ । त्यो सत्य हो । प्रधानमन्त्री समग्र कामका प्रति जिम्मेवार बन्नुपर्छ । त्यो अर्को सत्य हो । संविधानको व्यवस्थामा । संविधानले के भन्यो ? मन्त्रीहरू सदनप्रति आफ्नो मन्त्रालय जवाफदेही हुन्छन् । सरकार समग्रतामा जवाफदेही हुन्छन् । यो सामूहिक कुरा हो भने मन्त्रीको जिम्मेवारीको कुरा होइन । यदी काम भएका छैनन् भने प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ । काम भएका छन् भने उहाँले जस पाउने हो ।

एक जना देशको नेताले अमुक मन्त्रीले काम गर्न दिएन, पार्टीको कार्यकर्ताले यसो भन्यो भनेर भाग्न पाइन्न । तपाई देशको नेता हो । अभिभावक हो । गार्जियन हो ।

एक जना उर्दु सायर हुनुहुन्छ । साहब जाफरी । साहब जाफरीले एउटा शेयर लेख्नुभएको छ । उर्दुमा छ बढो सुन्दर । एउटा काफिला, काफिला भनेको धेरै मानिसहरूको एउटा झुण्ड हो । त्यसलाई नेतृत्व गरेर मुखिया जाँदै हुनु हुन्थ्यो । काफिला लुटियो । काफिला लुटिएपछि मुखियाले इधरकी बात गर्न थाल्यो । सहाब जाफरीले त्यसमा एउटा शेयर लख्नुभएको छ । तु इधर उधरीकी बात नकर । मुखियालाई भनेको गार्जियनलाई । जसलाई त्यो यात्रामा मुखियामा काफिलाको नेतृत्व गरिरहनुभएको थियो । तु इधर उधरकी बात नकर । यह बताकि कातिला क्युँ लुटा ? मुझे रहजनुसे गिला नहिँ, तपाई यताउताको कुरा नगर्नुस् । यो बताउनुस् कि तपाईले नेतृत्व गरेको काफिला किन लुटियो ? पहिलो कुरा । मुझे रहजनौँसे गिला नहिँ, मलाई काफिला लुट्नेहरूसँग कुन मतलब छैन । कुनै गुनासो छैन । उर्दुमा गिला भनको सिकायत । मुझे रहजनौँ से गिला नहिँ, तेरी रहबरीका सवाल है । तपाईको नेतृत्वमा सवाल हो भनेको हो । काफिला लुटिइसक्यो । नहुने कुरा भइसक्यो । अब इधर उधरकी बात गरेर उन्मुक्ति पाइन्छ ? त्यसो होइन । यदि १४ महिनामा काम भएको थिएन ? तपाईले भने जस्तो गठबन्धन फेर्नुपर्ने थियो । गठबन्धन ढाल्नुपर्ने थियो । अर्को बनाउनु पर्ने थियो । त्यहाँसम्म ठीक छ ।

तर, जाँदा त सबै जानु पर्ने थियो नि ? अरु सबै बेठीक म मात्रै ठीक, म बाहेक बेठीक भन्ने ठाउँमा पुग्दा नेपाली जनताले सहि मूल्यांकन गर्छन् । यसो भन्दै गर्दा कांग्रेसले लोभ गर्‍यो कि भन्ने पर्ला । कांग्रेसलाई लोभ छैन । तपाईले दिनु हुन्न त्यो परिसकेको छ । तर, बगलमा भएको पार्टनरलाई दिनुस् न त । साँच्चै सक्नु भएन भने त सबै जानु पर्‍यो नि बाबा । यस्तो दुनियाँमा कुन न्याय हुन्छ भन्या ? नेता म हुँ, मुखिया म हुँ, काम केही पनि भएको छैन त्यही भएर गठबन्धन भत्काउनु पर्‍यो अर्को बनाउनु पर्‍यो । काम नगर्ने भनेका यी यी मन्त्री हुन् । अलिक मिलेन ।

अ बेड वर्क म्यान्स क्वइरल्स वीथ हिज्स टुल्स, यसलाई कसै कसैले के पनि भन्छन् भने ए बड वर्क म्यान अलवेज बेन्स हिज टुल्स, मैले के आग्रह गर्न खोजेको हो भने मन्त्री जीहरू प्रधानमन्त्रीका टुल्स हुन् । औजार हुन् । अनि औजारलाई दोष दिएर राम्रो शिल्पी भाग्न हुन्छ । अझ उन्मुक्ति पाइन्छ ? हिन्दीमा भन्छन्, नाच्न नजाने आँगन टेडा, आफूले तरिकाले नाचेको छैन । अरुलाई दोष दिएको छ, टेडा भएको छ । यस्तो बहानाबाजी भएन भन्ने मेरो आग्रह हो ।

संक्रमणकालीन न्यायको कुरा मैले गरिसके । मैले एउटा कुरा भन्न पाउँकु किपाउँदैन ? संक्रमणकालीन न्याय नेपाली कांग्रेसको कारणले नभएको हुनाले मैले गठबन्धन फेर्नुपर्‍यो भन्ने जुन प्रधानमन्त्रीको स्वीकारोक्ति छ । त्यसका बारेमा जबसम्म कसका कारणले भएन भनेर प्रधानमन्त्रीले स्पष्टीकरण दिनु हुन्न या बेठीक कुरालाई बेठीक भनिएछ भनेर भन्नु हुन्न तबसम्म यसमा छलफल गर्न तयार छैनौँ भन्यौ भने के हुन्छ ?

संविधानको कार्यान्वयन भएन भन्नुभयो । कसले गर्ने हो कार्यान्वयन ? नेपाली कांग्रेसले मात्रै गरिदिनुपर्ने ? संविधान कार्यान्वयनको लागि चाहिने विधेयक कांग्रेसँग मात्रै सम्बन्धित थिए ? अथवा त्यो कार्यान्वयन नभए वापत कांग्रेसले बोकिदिनुपर्ने ? त्यो हुँदैन ।

अर्को कुरा रमाइलो देखियो । २०७९ पुस १ गते एउटा दलसँग गठबन्धन बन्यो । त्यसको दुई महिनापछि त्यो बेठीक छ भनेर अर्को गठबन्धन बन्यो । दुई महिनामा । आज १४ महिनापछि होइन फेरि पछिल्लोवाला बेठीक रहेछ अघिल्लोवाला ठीक रहेछ भनेर उहि गठबन्धन बन्ने भयो । अब यो कुन ठीक हो, कुन बेठीक हो ? यो ठीक र बेठीकको आधार के हो ? अहिलेको गठबन्धनको अर्को रमाइलो पक्ष देखे मैले । पार्टी उनै छन् । अनुहार मिलेमिले जस्तो छन् । उही हुन जस्तो लाग्छ । नयाँ त आउनुभएको छैन । पार्टीको नाम उहि देख्छु म । साथीभाईहरू हाम्रै उहि देख्छु । अनि उहि पार्टी, उहि साथी । दश महिना पहिला बेठीक भएका, अहिले ठीक । भोलिसम्म यिनै ठीक कसरी हुन्छन् र बेठीक कसरी हुने ? त्यसको कुनै जवाफ छ ? जवाफ होइन, व्यक्तिगत इच्छा ।

१५ महिना हुन लागेको छ ३ पटक गठबन्धन फेरिएको छ । ३ महिनामा गठबन्धन फेरिदा मैले आज क्यालकुलेटरमा हिसाब गर्दा झण्डै ४ वर्ष बाँकी छ । गठबन्धन कति पटक फेरिदा रहेछन् भन्दा त ? यहि स्पीडमा, यहि गतिमा प्रधानमन्त्री जी हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिनेवाला छ । १२ दशमलव ८२ आउँछ । ५ वर्षमा १२ पटक गठबन्धन फेर्ने अनि आफू चाहिँ १२ पटक भइरहने । अब यसलाई मैले जतिसुकै इमान्दार कदम हो, जतिसुकै देशका लागि हितकर हो, जतिसुकै राष्ट्र प्रेम हो, जतिसुकै देश भक्ति हो भने पनि, मत भनिदिउँला एकछिनका लागि, नेपाली जनता पत्याउँछ ? पत्याउनु पर्ने ? पत्याउँदैन नि । अब यो कुरोलाई, यस्तो कुरोलाई ५ वर्षमा १३ पटक गठबन्धन फेर्ने कुरालाई मेरो प्रधानमन्त्रीले जीवित छदाँसम्म उथलपुथल गर्छु भन्नुभएको छ । यहाँ मेरो गम्भीर रुपले ध्यानाकर्षण भएको छ । दुइटा कुरा भन्नुभएको छ । म जीवित रहँदासम्म उथलपुथल हुन्छ भन्नुभएको छ । त्यसमा त मेरो आग्रह के छभने हजुर जीवित सय वर्ष रहनु होला भन्ने मेरो शुभकामना छ । र, मेरो पनि उमर हजुरलाई लागोस् । मेरो उमेर घटोस्, तपाईको उमेर नघटोस् । किन भने मभन्दा तपाई देशलाई बढ्ता चाहिने नेता हो ।

जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि ? सबै मान्छेले सबै कुरा बुझिरहेका छन् । अब यो उथलपुथल कति दिन रहन्छ ? त्यो इतिहाँसले देखाउला । त्यति मात्रै भनेको भए ल राजनीति कै कुरा हुन्थ्यो अलिअलि भनेको के जातिलाई कहिले किन लात्ताले हान्छु भन्नुभयो । मेरो गम्भीर रुपले ध्यानाकर्षण भएको छ । म अत्यन्तै आदरपूर्वक मेरो सम्मानित नेता प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु देशको प्रधानमन्त्रीका लागि यो शब्द शोभनीय होइन । लात्ताले हान्ने ? कसले प्रधानमन्त्रीले । कसलाई हान्ने ? किन हान्ने ? कसलाई हान्ने ? कसरी हान्ने ? अनि प्रधानमन्त्रीले । मेरो दुर्भाग्य हो कि ? देशको दुर्भाग्य हो । त्यो देशको नागरिक र त्यो देशको जनप्रतिनिधि सांसद भएको छु जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्ने कुरा सिकाउँदै हुनुहुन्छ । मैले के भन्नु । मैले यो कुरालाई गम्भीरतापूर्वक उठाएको छु । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीजीले जवाफ दिनु होला । कांग्रेसलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीले लात्ताले हान्ने कुरा मिल्छ कि मिल्दैन ? प्रधानमन्त्रीले लात्ताले हान्ने कुरा बोलिसकेपछि हामीले चुप लागेर सुत्दिनु पर्ने हुन्छ कि हुँदैन । अनि प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनु भएन भने हामीले धेरै राम्रो मान्छे हुनुहुन्छ, हाम्रो त पुरानो दोस्ती हो भनेर चुप लागेर बसी दिनु हुन्छ कि हुँदैन त्यसका बारेमा निर्णय गरौँला । हामीलाई जवाफ चाहिन्छ ।

अगिन एकजना साथीले भन्नुभएको थियो । उथलपुथल नगरौँ । एकजनासँग मगनी, अर्कोसँग लगन गाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौँ टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन । त्यो पनि १२/१२ पटक गर्छुभन्दा शोभनीय हुन्छ ?

एउटा राजनीतिक दलको आन्तरिक विषयमा प्रवेश गर्नुभएको छ । के भन्नुभयो भने गठबन्धन किन छोड्नु पर्‍यो भन्दा नेपाली कांग्रेसको महासमितिले के को एउटा स्टल लगायो रे । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । हामी बहुलबादमा विश्वास गर्छौं । हामी मात्रै विश्वास गर्दैनौं कतिपय साथीहरूलाई सिकाएका छौँ । यति हेक्का रहोस् । बहुलबाद । विचारहरू उठ्छन् । प्रधानमन्त्रीज्यूले हिन्दु धर्मको कुरा गर्नुभएको छ । त्यो नेपाली कांग्रेसको आधिकारिक एजेण्डा होइन । महासमितिमा त्यसमा छलफल भएर पारित भएको छैन । हामी यो संविधानप्रति प्रतिबद्ध छौँ । पटक पटक भनेका छौँ । यो संविधानको निर्माणमा हाम्रो नेतृत्व रहेको, हाम्रो सहभागिता हो । हामी कसैभन्दा कम यो संविधानप्रति कमजोर प्रतिवद्धता लिएर यहाँ बसेका छैनौं । हाम्रो सबैभन्दा ज्यादा इमान्दार प्रतिवद्धता संविधानप्रति छ । संविधानमा हामीले के लेखेका छौँ हामीलाई थाहा छ । यसलाई कसरी दायित्व कसरी पूरा गर्नुपर्छ हामीलाई थाहा छ । नेपाली कांग्रेसको आधिकारिक धारण हुँदै नभएको, बन्दै नबनेको, पार्टीको आधिकारिक संस्थाले निर्णय नै नगरेको, विषयलाई लिएर यदि तपाईले कुनै राजनीतिक घटना गराउनुभएको हो भने मेरो कमजारी हो ? पार्टीको कमजोरी हो ? कांग्रेसको कमजोरी हो ? होइन ।

जहाँसम्म शब्दका कुरा गर्नु हुन्छ । पार्टीहरूले आफ्ना दस्तावेजमा लेख्छन् । म प्रधानमन्त्रीजीलाई हार्दिकतापूर्वक आग्रह गर्दै निवेदन गर्न चाहन्छु । तपाईको पार्टीले हिजोका दिनमा कांग्रेसलाई प्रयोग गरेका शब्द फेरि एक पटक स्मरण गरिदिनु हुन्छ ? शत्रु शक्ति भन्नुभएको होइन ? दुश्मन भन्नुभएको छैन ? तपाईले कांग्रेसलाई शत्रु शक्ति, दुश्मन भन्दा हामीलाई रिस उठेन । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । सशस्त्र द्वन्द्वलाई शान्तिमा परिणत गर्‍यौँ । संसदीय व्यवस्थालाई विध्वशं गर्छु भनेर तपाईहरूले दस्तावेजमा लेख्दै गर्दा विध्वशं होइन यहि व्यवस्थाले पार लगाउँछ भनेर हजुरहरूलाई संसदमा ल्याउन हामीले सहयोग गरेको होइन ? हामी तपाईहरूको दस्तावेजबाट आत्तिएर आतंकित भएर भाग्यौँ ? यो गठबन्धनलाई निरन्तरता दिऔँ, भन्या जति दिन्छौँ, आगामी दिनका बारेमा छलफल गरिरहेका थियौँ । बिचार थिए ।

निर्वाचन पूर्व गठबन्धन गर्ने कि नगर्ने ? निर्वाचनपछि गर्ने हो कि भनेर कांग्रेसले छलफल गर्न पाउँदैन ? अनि कांग्रेसका छलफलका कुराले आतंकित भएर भत्काउनुपर्ने गठबन्धन । यदि त्यसो हो भने दुइटा कुरा मैले पाएको छु । साथीहरू नरिसाइदिनु होला म आग्रह गर्छु । आजको नयाँ गठबन्धनको सबैभन्दा ठूलो राजनीतिक दलको वेबसाइटबाट लिएको मेरो एउटा स्टेटमेन्ट छ । नेकपा (एमाले)ले आफ्नो दस्तावेजमा एक ठाउँमा के भनेको रहेछ भने पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरूको इच्छापूर्ति गर्ने बचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा होइन, दस्तावेजबाट ल्याएको हो । माओवादी केन्द्रको अवसरवादी अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका छ वर्षमा हामी माथि पटक पटक धोका भएको छ । यसलाई कसरी लिनुभएको हो ? लेख्दा रहेछन् त पार्टीहरूले आफ्नो दस्तावेजमा ।

बरु उहाँहरूले लेख्नुभएको छ धोका भयो भनेर । म कुन निष्कर्षमा पुगेको छुभने धोका दिन कोही बाँकी रहेन । तर, एकचोटी सोँच्नुस्, यी जम्मै धोका पाएका एकदिन एकठाउँमा उभिए तपाईका विरुद्ध भने कहाँ पुग्नु होला ? खाली ख्याल गर्नु होला, हेक्का राख्नु होला । यति मात्रै आग्रह हो ।

मिटर व्याजका बारेमा गत सरकारले कुरा अगाडि बढाएको छ । काम अगाडि बढेको छ । अहिलेको सरकारले त्यसलाई निरन्तरता दिओस् । यो आकांक्षा छ । शिक्षा विधेयक अगाडि बढेको छ । ठीक ढंगले निष्कर्षमा पुगोस् । भूमिसम्बन्धी कामहरू अगाडि बढाएको विगत सरकारले त्यो अगाडि बढोस् । इजरायलमा दु:खमा परेका नेपालीहरूलाई स्वयम् परराष्ट्रमन्त्रीजी गएर फर्काएर ल्याउनुभएको छ । आशा गर्दैछौँ रुसमा फसेका नेपालीलाई तपाईहरूले त्यसै गरी फर्काएर ल्याउनु होला । सम्पत्ति शुद्धीकरण लगायतका विधेयकहरू हाम्रै साथी मन्त्री भएको मन्त्रालयबाट पारित भएका छन् । ठीक ढंगले अगाडि बढाइदिनु होला ।

यो संसदमा एउटा कुरा भएको छ । कुनै मन्त्रीका माथि अनुसन्धान प्रारम्भ भयो, कुनै मन्त्रीका माथि यदि कुनै ठाउँबाट प्रश्न उठ्यो भने त्यो मन्त्रीले राजीनामा गर्नुपर्छ भनेर सदन अवरुद्ध भएको छ । त्यो बालकुमारी घटनाको बारेमा होस् या अरु घटनाका बारेमा होस् । अब मेरो आशा के छभने अब नियुक्त भएर आउनु भएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने मैले आशा लिएको छु । यदि परेका छन् भने अनि त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने पनि मेरो आग्रह छ ।

अर्थतन्त्रको बारेमा राष्ट्रिय, अन्तर्राष्ट्रिय कारणले अर्थतन्त्रमा शंकुचन भयो । हाम्रो अर्थतन्त्र पनि त्यसले प्रभावित भयो । त्यसले भने जतिको काम हुन सकेनन् होला । तर, आर्थिक अनुशासन कायम गर्ने प्रयत्न भएको हो नि । अहिले अर्थतन्त्र लयमा आएको छ । अर्थतन्त्रमा लयमा आउनु । आर्थिक इण्डिकेटरहरू सकारात्मक हुनु, आर्थिक अनुशासन कायम गर्नु अपराध हो ? त्यो कारणले कांग्रेस बाहिरिनुपर्ने ?

(रमेश लेखक, प्रमुख सचेतक, नेपाली कांग्रेस/मिति २०८० फागुन २४ गते प्रतिनिधिसभाको बैठकमा विशेष समयमा दिएको अभिव्यक्ति)

Published : Friday, 2024 March 8, 12:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया