सबैका सामू देउवाले ओलीलाई झपारे, लामिछानेद्वारा राज्यसत्ता दुरुपयोगको क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी ओलीको शैली र व्यवहारबाट रिसाएका छन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा ओली हाबी भएर सहकारी ठगीका विषयमा गृहमन्त्री रवि लामिछानेलाई बचाउने गरेर हस्तक्षेप गर्न खोजेपछि देउवाले आपत्ति जनाएका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बोल्दा बोल्दै ओलीले ‘भयो पुग्छ’ भनेर हस्तक्षेप गरेका थिए । त्यसपछि ओलीको हर्कतप्रति सभापति देउवा आक्रोशित भएका हुन् ।

‘प्रतिपक्षलाई तपाईं बोल्न नदिने ? यो के गरेको ओलीजी ? बोल्न पाइँदैन भन्न मिल्छ ? को हो तपाईं ?’, सभापति देउवाको भनाइ उद्धृत गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भनेका छन् ।

सभापति देउवाले कांग्रेसका तर्फबाट सबै कुरा प्रमुख सचेतक रमेश लेखकलाई राख्न लगाएका थिए । लेखकले रुपन्देहीको सरकारी वकिल कार्यालयमा दर्ता भएको अनुसन्धानको प्रतिवेदन पढेर सुनाएका थिए ।

लेखकले भने, ‘त्यो प्रतिवेदनको ठाउँ ठाउँमा रवि लामिछानेको नाममा कुनै पनि प्रक्रिया नपुर्‍याइ ऋण गएको, रवि लामिछाने प्रबन्ध निर्देशक र सञ्चालक भएको गोरखा मिडिया नेटवर्कमा ऋण गएको मैले पढेर सुनाएँ ।’

गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरेर संसदीय छानविन समिति बनाउन सत्ता पक्षले चाहेको छ । कांग्रेसले
‘हामीले समग्र सहकारीको छानबिन गर्ने कुरा पनि ठिक छ’, लेखकले भने, ‘गृहमन्त्री रवि लामिछानेको विषयलाई नजरअन्दाज गरेर जान सकिँदैन भन्ने कुरा हामीले राख्यौँ ।’

लेखकले भने, ‘हाम्रो कुरा रवि लामिछानेमाथि छुट्टै संसदीय छानबिन समिति बन्नुपर्छ भन्ने छैन । सङ्कटग्रस्त समग्र सहकारीको छानबिन र गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने गरी दुई वटा टीओआर दिएर एउटै समिति बनाए पनि हामीलाई आपत्ति छैन ।’

गृहमन्त्री लामिछानेले महान्यायधिवक्ताको कार्यालयबाट सहकारी ठगी काण्डमा आफ्नो संलग्नता छैन भन्ने पत्र लेखाएर ल्याएका थिए । गृहमन्त्री लामिछानेले सहकारी काण्डबाट बच्न राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको सो पत्रले पनि पुष्टि गरेको छ ।

Published : Tuesday, 2024 May 7, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया