‘अपरेसन रक्स’बाट सोनाम झ्याप्पै पक्राउ

काठमाडौं । भक्तपुरमा जग्गा देखाउने बहानामा कुटपिट गरेर चन्द्रबहादुर योञ्जन लामाको हत्या गर्ने माइला भन्ने सोनाम तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ टिमुरे घर भएका ४२ वर्षीय तामाङले असोज २१ गते योञ्जनको हत्या गरेका थिए । हत्यापछि फरार रहेका तामाङलाई महाशाखाको टोलीले आइतबार काभ्रे जिल्लाको धुलीखेल नगरपालिका– १ स्थित मयुरपार्कबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ परेका तामाङलाई आवश्यक कारवहीका लागि महानगरीय प्रहरी वृत्त जगाती पठाइएको छ ।

असोज २१ गते रामेछाप जिल्लाको सोनापति गाउँपालिका–३, कामा स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडाल बस्दै आएका ६१ वर्षीया योञ्जनको हत्या भएको थियो ।

योञ्जनको पसलमा दुई जना अपरिचित व्यक्तिहरूले वियर समेत सेवन गरेका थिए । त्यसपछि लुटपाट र हत्याको योजना बनेको थियो ।

तामाङसहितका व्यक्तिहरू आफन्तलाई जग्गा चाहिएको बहाना बनाई योञ्जनलाई विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी सुनको ब्रासलेट र मोबाइल लुटेर भागेका थिए ।

कुटपिटबाट गम्भीर घाइते योञ्जनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाका मुख्य योजनाकारमध्यका तामाङ फरार थिए । तामाङलाई महाशाखाले ‘अपरेसन रक्स’ सञ्चालन गरी पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

घटनामा संलग्न भएका व्यक्तिहरूमध्य कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यसअघि असोज २६ गते महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

Published : Sunday, 2021 January 17, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया