नायक केसी नयाँ फिल्मको तयारीमा, पोखरामा सम्मानित

काठमाडौं । नायक शीतल केसीले नयाँ फिल्मको तयारी गरेका छन् । कोरोना महामारीका कारण झण्डै ९ महिना घरमै बसेका केसीले साथीहरूसँग मिलेर नयाँ फिल्म बनाउने तयारी गरेका हुन् ।

फिल्मको कथाका विषय टुंगो लागिसकेको छ । कलाकार र फिल्मको नाम केही दिनमै फाइनल हुने उनले बताए ।

कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्र प्रभावित बनेको बताएका नायक केसीले जोखिम मोलेर भएपनि काममा फर्कनुपर्ने बताए । उनले शुटिङका बेला उच्च सावधानी अपनाइने बताएका छन् ।

यसैबीच, नायक केसीलाई वार्षिक रुपमा निरन्तर आयोजना हुँदै आएको बक्स अफिस फिल्म फेयर अवार्ड समारोहमा सम्मान गरिएको छ ।

पोखरामा सम्पन्न भएको १२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ का बेला सदाबहार नायक केसीलाई बक्स अफिस इन्टरनेशनल ग्रुपले सम्मान गरेको छ । केसीलाई आजीवन सदस्यसहित विशेष सम्मानबाट सम्मानित गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केसीसहितका कलाकारहरूलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान लगायतका चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।


दुई दशकदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायक केसी अभिनित दुई दर्जनभन्दा बढी चलचित्रले व्यावसायिक सफलता हासिल गरिसकेका छन् । केसी अभिनित चलचित्र ‘सम्हाली राख है’ केही समय पहिले प्रदर्शनमा आएको थियो । चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’ प्रदर्शनका लागि तयार छ ।

कोरोनाभाइरसका कारण चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’को प्रदर्शन मिति केही समय पछाडि धकेलिएको छ । चलचित्र ‘सम्हाली राख है’मा शीतलको कामको प्रशंसा भएको थियो ।

Published : Thursday, 2021 January 7, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया