काठमाडौंमा पतिद्वारा २२ वर्षीया पत्नीको हत्या

काठमाडौं । काठमाडौंमा सुरज परियारलाई आफ्नी पत्नी मीरा सुन्दास परियारको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुरजलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । सुरजले पत्नीसँग विवाद हुँदा झगडा हुँदा सलले घाँटी थिचेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो घर भई काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्दै आएका २३ वर्षीय सुरजले आफ्नी २२ वर्षीया पत्नी मीरालाई कोठामा शुक्रबार राति कुटपिट गरेर हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिएका छन् ।

सुरज र मीराबीच दुई वर्षअघि विवाह भएको थियो । विवाह भएको केही समयदेखि नै उनीहरूबीच सम्बन्ध बिग्रिँदै गएको थियो ।

मीराले कालीमाटीको तरकारी बजारमा सुन्तला बेच्दै आएकी थिइन् । सुरजले गरगहनामा जलप लगाउने काम गर्दै आएका थिए ।

शुक्रबार राति कालीमाटीको डेरा नजिकै रहेको भट्टीमा सुरजले रक्सी पिएका थिए । मासु किन्ने विषयमा विवाद हुँदा सुरजले पत्नीको हत्या गरेको डीएसपी विष्टले बताएका छन् ।

मीराको हत्या गरेपछि सुरजले आफू उम्किन आत्महत्या जस्तो बनाउन नाटक गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

मीरालाई सलमा झुण्डिएको जस्तो बनाएर सुरज बाहिर निस्किएको थियो । कोठाको चाबी लगाएर भेन्टिलेटरबाट चाबी कोठाभित्र फ्याँकिदिएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

मीराकी दिदी रुपा सुन्दासलाई फोन गरेर सुरजले बोलाएका थिए । रुपाले भित्तामा अडेस लागेकी बहिनी मीरालाई उपचारका लागि वीर अस्पताल लगेकी थिइन् ।

चिकित्सकहरूले मीरालाई मृत घोषणा गरिदिएका थिए । चिकित्सकहरूले नै मीराको हत्या भएको हुन सक्ने भनेर प्रहरीलाई खबर गरेपछि सुरज पक्राउ गरेका हुन् ।

Published : Sunday, 2021 January 3, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया