काठमाडौंमा लुटपाट गरेर हैरान बनाएको समूह पक्राउ

काठमाडौं । काठमाडौंको मैतीदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने पाँच जनाको समूहलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको असनमा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, थानकोट बस्ने २२ वर्षीय भय तुलाधर, जुम्लाको सिंजाका घर भई बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर र सोही स्थानका १८ वर्षीय रोहित शाही रहेको महाशाखाका प्रमुख एवम् एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

पुस १५ गते दिउँसो सहकारीमा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९१५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो ।

चाबहिलस्थित ए–वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

खोजतलासका क्रममा लुटपाट गरी लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडीबाट बिभिन्न सरसामानहरू चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ ।

Published : Saturday, 2021 January 2, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया