अनलाईनबाट १३ लाख ठगी गर्ने धर्मेन्द्र–अनन्तको समूह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्स एप र स्टाग्राममार्फत १३ लाख ३९ हजार ठगी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका– ४ घर भएका २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।

धर्मेन्द्र र अनन्तको समूहले ‘जेरी जेम्स’का नाममा सामाजिक सञ्जालमा फ्रेण्डस रिक्वेस्ट पठाएर साथी बनेर ठगी गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई रुपन्देही प्रहरीसँग समन्वय गरि पुस १५ गते पक्राउ गरिएको महाशाखाका प्रमुख एवम् एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

नक्कली आईडीबाट कुराकानी गर्दै धर्मेन्द्र र अनन्तको समूहले ‘म केमिकल ईञ्जिनियर हुँ, मैले काम गर्ने कम्पनीको ७० वर्ष पुगेको उपलक्ष्यमा एक जनालाई गिफ्ट पठाउन पाईन्छ, म तिमीलाई आइफोन ११, ल्यापटप, गोल्ड लगायत बहुमूल्य सामानहरूको बक्स पठाइदिएको छु’ भनेर ठगी गर्दै आएका थिए ।

उक्त सामान पाउनका लागि भन्सार बापत रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई विश्वासमा लिएर पीडितलाई नेपालमा रहेका कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डूका १३ लाख ३९ हजार पठाउन लगाएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

धर्मेन्द्र र अनन्तको समूहले बिभिन्न ब्यक्तिहरूको खाता नम्बरमा पटक–पटक गरी रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2021 January 2, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया