काठमाडौंका गुण्डाहरूको ‘ग्याङ्’का नाइके पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका–९ ठेगाना भएका ‘सोले’, ‘कुमार’ भन्ने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बाबुराजा रावललाई २०६५ पुस १ गते बुढाथोकी लगायत प्रल्हाद महत, विष्णु जिसी, ‘बङ्गुरे’ भन्ने विकास कार्की, ‘सोल्टी’ भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरी बन्धक बनाएका थियो ।

यो समूहले रावललाई ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपियाँ लिई रावललाई पुस २ गते टोखा पु¥याई छोडेर फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका–२, पशुपतिनगर टोलबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी पक्राउ परेका दुर्गाबहादुर बुढाथोकी २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार भएका थिए ।

त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरू दुर्गाबहादुर बुढाथोकी संलग्न भई फरार रहेका थिए ।

प्रहरीको खोजीमा रहेका दुर्गाबहादुर बुढाथोकीले आफ्नो पहिचान समेत बदली ‘प्रकाश क्षेत्री’को नामले परिचित भई भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल सञ्चालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

दुर्गाबहादुर बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Wednesday, 2020 December 30, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया