काठमाडौंमा नाम चलेका भू–माफिया भिआईपी ठग पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी काण्डमा फरार रहेका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिको समूहलाई काठमाडौं उपत्यकाभित्र ‘भू–माफिया’को रुपमा चिन्ने गरिन्छ ।

परिसरका प्रमुख एवम् एसएसपी अशोक सिंहले शनिबार बिहान कक्षपतिलाई पक्राउ गरिएको जानकारी दिए । ‘सहदेव कक्षपतिलाई ठगी अभियोगमा अदालतले सजाय दिएको थियो’, सिंहले भने, ‘अदालतबाट खोजी भएको व्यक्तिलाई पक्राउ गरेका छौँ ।’

कक्षपतिले हाइप्रोफाइलका व्यक्तिहरूलाई नाम जोडेर ठगी गर्दै आएका थिए । उनलाई अदालतले नै सजाय तोकेको थियो ।

कक्षपतिले थुप्रै व्यक्तिको अरबौं रुपियाँ ठगी गरेको आरोप छ । कक्षपतिले महाशंकर रेग्मी नाम गरेका व्यक्तिको जग्गा ठगी कब्जा गर्न खोजेका थिए ।

कक्षपतीले नेपाली कांग्रेसका उप–सभापति विजय गच्छदारलाई भिनाजु नाता लगाएर ठगी गर्दै आएको प्रहरीमा उजुरी परेको थियो ।

कक्षपतिले जग्गा हडप्ने, मुद्दा दिने र अदालतमा मुद्दा दिएर सेटिङ गरी जग्गा र घरधनीलाई सडकमा पु¥याउँदै आएका थिए ।

कक्षपतिसँगै ठगी काण्डको अभियोगमा प्रहरीले रेवती ढकाल र विष्णु श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

यो समूहले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नाम समेत जोडेर बदनाम गर्दै आएको प्रहरीले जनाएको छ ।

ललितपुरको छम्पीमा कक्षपति र उनको समूहले १५–२० घरपरिवारलाई उठिबास लगाएको थियो । सर्वसाधारणहरूको जग्गा लिएर कक्षपतिले बैंकबाट ऋण झिक्ने गरेका थिए । ऋण नतिरेर कक्षपति लुकीछिपी बस्दै आएका थिए ।

कक्षपतिबिरुद्ध अदालतले ३ महिना कैद सजाय तोके पनि उनी फरार थिए । नेपाल ट्रष्टको नाममा रहेको काठमाडौं प्लाजाको भवनको लिज सकिएपछि पनि अदालत मिलाउँछु भन्दै ब्यापारीसँग पैसा लिएको आरोप कक्षपतिलाई छ ।

अदालतले अन्तरिम आदेश नदिएपछि पीडितहरूले कक्षपतिसँग पैसा फिर्ता मागेका थिए । काठमाडौं प्लाजाका ब्यापारीहरूले कक्षपतिलाई मुद्दा जिताइदिन्छु भनेकाले रकम दिएका थिए । मुद्दा नजितेपछि कक्षपति सम्पर्कबिहीन भएका थिए ।

Published : Saturday, 2020 December 26, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया