काठमाडौंमा ‘तरुनी’ प्रयोग गरेर डकैती

काठमाडौं । काठमाडौंमा युवती प्रयोग गरेर छ लाख पैतीस हजार रुपियाँ लुटपाट गर्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ ‘सागर’लाई महानगरीय अपधराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

लुटपाटमा संलग्न श्रेष्ठ दोलखा जिल्लाको शैलुङ गाउँपालिका– ३ स्थायी घर भई काठमाडौंको स्युचाटारमा बस्दै आएका थिए ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका– २ बस्ने भोलाबहादुर जर्घा मगरलाई युवतीले लिफ्ट मागेर चोभार पुर्‍याइ लुटपाट गरेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा ती युवतीलाई लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभारसम्म पुर्‍याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्‍र्याउँदा लुटपाट भएको छ’, प्रहरीले भनेको छ ।

‘त्याँहा पहिलेदेखि नै बसेका अपरिचित ब्यक्तिहरूले रडको प्रयोग गरी नियन्त्रणमा लिएको र साथमा भएको ६ तोला सुनको सिक्री १ थान, मोवाईल २ थान, रेबन चस्मा १ थान र नगद रु. ७ हजार समेत गरि अन्दाजी ६ लाख ३५ हजार बराबरको धनमाल लुटी फरार भएका थिए’, विज्ञप्तिमा भनिएको छ ।

महाशाखाको निरन्तर अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये श्रेष्ठलाई पक्राउ गरि आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

एसएसपी थापाले भनेका छन्, ‘प्रारम्भिक अनुसन्धानको क्रममा सागर भन्ने लालबहादुर श्रेष्ठ समेतका मानिसहरूले अन्य स्थानहरूमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरूलाई लुटपाट गरेको भन्ने बुझिन आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भइरहेको छ ।’

Published : Wednesday, 2020 December 23, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया