सौराहको पर्यटनमा सुधार हुँदै, ‘घुमौँ सौरहा’ अभियान शुरू

राजेन्द्र आचार्य

भरतपुर । चितवन जिल्लाको सौराहामा पहिलो पटक पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ सौराहा’ अभियान शुरु गरिने भएको छ ।

नाकावन्दी, भूकम्प, मुग्लिन–नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोनाभाइरससंगै ठप्प बनेको थियो ।

जसका लागि होटल व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा ‘घुमौँ सौराहा’ अभियान शुरु गरिने भएको हो ।

आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसंगै व्यवसायिक भेटघाट राखिनेछ ।

पुस १० गतेबाट अभियान शुरु गरिने क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन् ।

अभियानका क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ वीरगञ्ज विविध कार्यक्रम गरिनेछ ।

‘कोरोनाभाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष भट्टराईले भने, ‘स्वदेशभित्र भने घुम्न र पर्यटकहरूलाई आर्कषित गर्न घुमौँ सौराहा अभियान शुरु गर्न लागेका छौं ।’

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजनाअनुसार शुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताएका छन् ।

कोरोनाका कारण घरमै बस्दा हैरान भएका व्यक्तिहरू घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गर्ने संघले जनाएको छ ।

‘हाम्रो उदेश्य नेपालीहरूले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यताअनुसार सस्तो प्याकेजसहित ‘घुमौँ सौराहा’ अभियान ल्याएका छौं’, थपलियाले भनेका छन् ।

होटल व्यवसायीहरूको अभियानले पर्यटन व्यवसायमा केही सुधार हुने अनुमान छ ।

Published : Monday, 2020 December 21, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया