काठमाडौंमा खाग बेचेर पैसा कमाउने योजना प्रहरीले यसरी भत्काइदियो

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले गैडाको खागसहित पाँच जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भू किमडोलबाट गैंडाको खागसहित ५ जनालाई बिहीबार पक्राउ गरेको महाशाखाका प्रमुख एवम् एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगगरपालिका– २३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका–६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गैंडाको खाग बिक्री गर्नका लागि कोठामा राखिरहेको अवस्थामा उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

वरामद वस्तुसहित उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाका प्रमुख थापाले जनाएका छन् ।

Published : Friday, 2020 December 11, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया