प्रदेश १ को राजधानी रहेको जिल्लामै प्रधानाध्यापकले ज्यान गुमाए

विराटनगर । प्रदेश १ को राजधानी रहेको मोरङ जिल्लामा शिक्षकको हत्या भएपछि शान्ति सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटी हत्या भएपछि प्रदेश १ को राजधानी रहेको मोरङका सुरक्षा निकाय र प्रदेश सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरूले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी सोही गाउँपालिका–१ बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको अवस्थामा शव भेटिएको छ’, प्रहरीले भनेको छ ।

हत्याको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा श्रेष्ठको शव फेला पारेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरूको विभिन्न स्थानहरूमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Published : Tuesday, 2020 December 8, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया