प्रदेश २ का ‘कुख्यात’ अन्सारी पक्राउ, यस्तो थियो अपराधको घटना

जनकपुरधाम । प्रहरीले अत्याधिक खोजीको सूचीमा रहेका कुख्यात जीवच्छ अन्सारीलाई अपहरणपछि विद्यार्थीको हत्या गरिएको मुख्य योजनाकारलाई आठ वर्षपछि पक्राउ गरेको छ ।

अन्सारीलाई महोत्तरीको सिमाना क्षेत्रबाट पक्राउ गरेको २ नं. प्रदेश प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्सारी महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी हुन् ।

प्रहरीको विशेष टोलीले उनलाई जलेश्वर नगरपालिका–३ स्थित सीमा नजिकैबाट नियन्त्रणमा लिएको हो ।

अन्सारीमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र नक्कली प्रमाण पेश गरेर नागरिकता लिएको तीन उजूरी परेको छ ।

२०६९ साल चैत ४ सोनमा गाउँपालिका–१ सुन्दरपुरका २२ वर्षीय पंकज यादवलाई अन्सारीको समूहले अपहरण पश्चात परिवारजनबाट ७ लाख फिरौती लिएका थिए ।

आफ्नो समूहको पोल खुल्ने डरले अपहरणपछि पंकजको छुराले गर्दन रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । फिरौती असुलीपछि पोल खुल्ने डरले अन्सारीको समूहले उनको हत्या गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् ।

पंकजको अपहरण तथा हत्या घटनामा ६ जना सहभागी थिए । सिरहाको अर्नमाका गणेशकुमार सिंह महतो, धनुषाको भरतपुरका कुशेश्वर ठाकुर, सखुवा महेन्द्रनगरको विक्रु भन्ने कृष्णा कुमार पुर्वे, ठेगाना नखुलेका राजु सिंह र श्याम मिश्रासहित अन्सारीले पंकजको अपहरण पश्चात निर्मम हत्या गरेका थिए ।

जलेश्वर नगरपालिका–४ स्थित अन्सारीले आफ्नै घरबाट अपराधी समूह चलाउँथें । त्यहीबाट पंकजको अपहरण गर्ने योजना बनेकोे थियो ।

महोत्तरी जिल्ला अदालतको २०७२ जेष्ठ १८ गतेको फैसला अनुसार अन्सारीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार जरिवना गरिएको थियो ।

पक्राउ परेका अन्सारीले झुठ्ठा विवरण पेश गरेर २०५१ सालमा नेपाली नागरिकता लिएको भन्ने उजुरी पनि परेको थियो । उनी पक्राउ परेपछि त्यस विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

घटना लगतै दुई आरोपी पक्राउ परेका थिए । पंकजको घटनामा संलग्न प्रतिवादी मध्येका ‘विक्रु’ भन्ने कृष्णा पुर्वे र कुशेश्वर ठाकुर पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा सर्वश्व सहित जन्मकैद, अपहरण तथा शरीर बन्धक लिने मुद्दामा पुर्वेमाथि १७ वर्ष कैद र अन्सारी बमोजिमकै जरीवाना गरिएको थियो । उनी हाल सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

अर्का प्रतिवादी ठाकुरको हकमा कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय, अपहरण तथा शरीर बन्धक लिने मुद्दामा १२ वर्ष कैद र दुई लाख ३८ हजार २८५ रुपैंया जरीवाना महोत्तरी अदालतले फैसला सुनाएको थियो । ठाकुर मकवानपुरस्थित भीमफेदी कारागारमा कैद छन् ।

Published : Friday, 2020 November 20, 7:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया