अर्घाखाँचीमा नेकपाभित्र पहिरो गयो, छत्रदेव कम्युनिस्ट मुक्त हुँदै

सन्धिखर्क । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार जनताका लागिभन्दा आफ्नो स्वार्थपूर्तिमा लागेको भन्दै उनीहरूले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

छत्रदेव गाउँपालिका– ८ मरेंगका १७ जनलाई नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टी प्रवेश गराएका हुन् ।

छत्रदेव–८ का केशव सेजवाल, मेगबहादुर सेजवाल, प्रेमबहादुर खत्री, सूर्यबहादुर पाण्डे, रामु सेवजाल, खिमबहादुर सेजवाल, रुपा सेजवाल, किरण सेजवाल, गौरी सेजवाल, फूलमाया सेजवाल, अर्जुन सेजवाल, कमला खत्री, टेकबहादुर खत्री, ताराबहादुर पाण्डे, कृष्णबहादुर सेवजाल, सीता पाण्डे लगायतका १७ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नम्वर– १ का क्षेत्रीय सचिव ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

कांग्रेस सभापति खनाल, क्षेत्रीय सचिव फुल्लेल, मालारानी गाउँपालिका संयोजक तथा मालारानी– ३ का वडाध्यक्ष शोभाखर खनाल, छत्रदेव–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सारदा खनाल, वडा सदस्य ज्ञानबहादुर पाण्डे, पूर्व पार्टी सभापति विष्णुप्रसाद श्रेष्ठ, वडा पार्टी सचिव ओमबहादुर पाण्डेलगायतले नवप्रवेशहरूलाई कार्यक्रममा स्वागत गरेका थिए ।

Published : Wednesday, 2020 November 18, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया