काठमाडौंमा ‘विप्लव’लाई ठूलो धक्का, तीन करोड उठाउने योजना प्रहरीले विफल बनाइदियो

काठमाडौं । महानगरीय अपराध महाशाखाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जनालाई तीन करोड चन्दा मागेर धम्काएको अभियोगमा पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने व्यवसायीहरूलाई फोन गरी तीन करोड चन्दा मागेको अभियोगमा चार जनालाई पक्राउ गरिएको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद समेत दिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप जिल्लाको सुनापाती– ३ घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’, काभ्रे जिल्लाको तिमाल गाउँपालिका– ५ घर भएका ५२ वर्षीय तीर्थमान तामाङ र चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।

उनीहरूले विप्लव नेतृत्वको ‘नेकपाको पूर्वजिल्ला सेक्रेटरी र कार्यकर्ता हौँ’ भनि विभिन्न व्यवसायीहरूसँग तीन करोड चन्दा मागेका थिए ।

चन्दा नदिए भौतिक कारवाही समेत गर्ने धम्की उनीहरूले दिएको प्रहरीले जनाएको छ । धम्की दिएको सूचना पाउनेवित्तिकै महाशाखाले उनीहरूलाई खोजतलास गरी काठमाडौंका विभिन्न स्थानबाट कात्तिक २४ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका चार जना आफ्ना नेता कार्यकर्ता हुन् वा होइनन् भन्ने विषयमा विप्लव नेतृत्वको नेकपाले केही भनेको छैन ।

Published : Tuesday, 2020 November 10, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया