संघको पहलमा वैदेशिक रोजगारीमा जाने बाटो खुल्यो

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मागअनुसार सरकारले मागपत्र प्रमाणीकरण गर्नका लागि राजदूतावासहरूलाई निर्देशन दिएको छ ।

सरकारले भदौ १४ गते नै वैदेशिक रोजगारीका लागि बाटो खोलेको थियो । संघको आग्रहमा बाँकी काम र प्रक्रियाहरू सरकारले गर्न शुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्था शाखाले मंगलबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर मागपत्र प्रमाणीकरणका लागि समन्वय गर्न आग्रह गरेको हो ।

‘मागपत्र प्रमाणीकरणको सम्बन्धमा विदेशस्थित दूतावासहरूले हालसम्म पनि कुनै मागपत्र प्रमाणीकरण नगरेको हुँदा आजकै मितिदेखि सम्बन्धित निकायहरूलाई मागपत्र प्रमाणीकरण गर्नको लागि निर्देशन/आदेश गरी नेपाली नगारिकहरूलाई श्रम गन्तव्य मुलुकहरूमा रोजगारी दिने वातावरण बनाउन अनुरोध गरी यस मन्त्रालयमा पेश गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कात्तिक १७ गतेको निवेदन एवम् सो निवेदनमा उल्लेख भएको विषयमा नेपाल सरकार, मन्त्रिपरिषदको भदौ १४ को निर्णयको छायाँप्रति यसैसाथ संलग्न छ’, श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘सो निवेदनको सम्बन्धमा विदेशस्थित नेपाली राजदूतावासहरूसँग आवश्यक समन्वय गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

यसअघि संघका अध्यक्ष विष्णुप्रसाद गैरेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री र सचिवहरूलाई मागपत्र प्रमाणीकरणका विषयमा कात्तिक १७ गते पत्र बुझाएका थिए ।

संघका तर्फबाट अध्यक्ष गैरेले नेपाली राजदूतावासहरूमा मागपत्र प्रमाणीकरणमा धेरै समस्या रहेको पत्रमा उल्लेख गरेका थिए ।

‘नेपालीहरूको रोजगारी गन्तव्यको रुपमा रहेको साउदी अरब, ओमान, यूएई, बहराइन तथा केही युरोपियन देशहरूमा कोभिड–१९ को महामारीका कम भइ व्यापार, व्यवसाय, कारोबार प्रारम्भ भएकोले उक्त देशहरूले नेपालबाट कामदार लिन प्रारम्भ गर्ने जानकारी रोजगारदाताहरूले गराएका छन्’, संघको पत्रमा भनिएको छ ।

‘कामदारहरू पनि रोजगारीका लागि जान इच्छुक छन्’, संघले भनेको छ, ‘नेपालबाट कामदारहरू नपठाएमा रोजगारदाताले व्यवसाय सञ्चालन गर्न अन्य देशहरूबाट कामदार लिने सम्भावना देखिन्छ ।’

‘आवश्यक विद्यमान परिपेक्षमा अब श्रमिकहरू पठाउन रोक लगाइ राख्न पर्ने आवश्यक्ता छैन’, संघको पत्रमा भनिएको छ, ‘मन्त्रिपरिषदको भदौ १४ गतेको निर्णयअनुसार पनि नेपाली कामदार पठाउन लगाइएको रोक फुकुवा गर्ने र कुन समयदेखि फुकुवा गर्ने अधिकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिएकोले विदेशस्थित दूतावासहरूले हालसम्म मागपत्र प्रमाणीकरण नगरेको हुँदा मागपत्र प्रमाणीकरण गर्न र नेपाली कामदार लिने वातावरण बनाउन अनुरोध छ ।’

Published : Wednesday, 2020 November 4, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया