दुबईमा खेल, बाराबाट तीन जना पक्राउ

काठमाडौं । दुबईमा चलिरहेको इण्डियन प्रिमियर लिग २०२० क्रिकेटको नेपालमा सट्टाबाजी खेलाउने समूह पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले कलैयास्थित बजारबाट सट्टाबाजी खेलाउने तीन जनालाई पक्राउ गरेको हो ।

मंगलबार राति ८ बजे कलैया उपमहानगरपालिका– १ राजदेवी टोलस्थित राजुकुमार यादवको घरबाट सट्टाबाजी खेलाउनेहरूलाई पक्राउ गरिएको बारा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘किङ्गस इलेभन पञ्जाब र दिल्ली क्यापिटल्स टिमबीच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको थाहा पाई घरमा प्रवेश गर्दा साट्टाबाजी खेलिरहेका घरधनि राजुकुमार यादव, दीपककुमार सर्राफ र रवि दास लाई नियन्त्रणमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरूको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा कोठाबाट सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एक लाख सतहतर हजार पचास रूपियाँ नगद र मोबाइल थान २ समेत फेला परेको प्रहरीले जनाएको छ ।

सट्टाबाजी खेल्ने राजुकुमार यादव, दीपककुमार सर्राफ र रवि दासलाई पक्राउ गरी सट्टाबाजी मुद्दाअन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2020 October 21, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया