रौतहटमा आफ्नै छोरीकी साथी सिध्याउने तेली पक्राउ

गौर । २ नं. प्रदेश प्रहरीले रौतहटको गढीमाई नगरपालिका–४ मा १४ वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने ४५ वर्षीय चुनु साह तेलीलाई पक्राउ गरेको छ ।

असोज १६ गते साँझ स्थानीय उखु खेतमा १४ वर्षीया बालिकाको शव भेटिएको २ नं. प्रदेश प्रहरीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बालिका सोही दिन बिहान गाईबस्तुका लागि घाँस पात लिन घरबाट निस्किएकी थिइन् । बालिका हजुरबुबाको घरमा बस्दै आएकी थिइन् ।

उनका बाआमा गढीमाई–१ मा बस्ने गर्छन् । बलात्कृत भएपछि बालिकाले घटनाबारे अरुलाई भनिदिने बताएपछि तेलीले हत्या गरेको डीआईजी सिंहले जानकारी दिए ।

मृतक बालिका तेलीकी छोरीकी साथी हुन् । ती बालिका तेलीको घरमा आइरहन्थिन् ।

बलात्कारपछि बालिकाको हत्या गरेर फरार रहेका तेलीलाई गुरुडा नगरपालिका–४ मा लुकीछिपी बसेको अवस्थामा फेला पारेर प्रहरीले पक्राउ गरेको छ ।

तेलीलाई जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि १५ दिनको म्याद पनि थप भइसकेको छ ।

Published : Thursday, 2020 October 15, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया