निषेधाज्ञाका बेला काठमाडौंमा टोले गुण्डाहरूबीच कुटाकुट, जिल पर्‍याे प्रहरी

काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंमा टोले गुण्डाहरूको बिगबगी बढेको छ ।

काठमाडौंको ढुंगेधारा र रानीवन क्षेत्रका टोले गुण्डाहरूबीच भदौ १७ र १८ गते झडप भएको छ । फुटसल, भलिबल म्याच खेल्ने विषयमा ती टोले गुण्डाहरूबीच झडप भएको हो ।

झडपमा घाइते भएकाहरूलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा भदौ १८ गते राति ९ बजे दुबै पक्षका टोले गुण्डाहरू पुगेपछि हानाहान भएको थियो ।

त्यस क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड र क्षति भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सोमेन्द्र राठौरले दुई टोलका युवाहरूबीच झडप भएको बताएका छन् ।

उनीहरूका बीच बेलाबेलामा फुटसल, भलिबल म्याच हुने गरेको थियो । भदौ १७ गते उनीहरूका बीच भलिबल म्याच पनि भएको थियो । सोही विषयमा ती टोले गुण्डाहरूबीच हानाहान भएको थियो ।

त्यसको भोलिपल्ट भदौ १८ गते साँझ ढुंगेधाराका युवाहरू मोटरसाइकलमा बदला लिन रानीवन गएको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताएका छन् ।

अघिल्लो दिनको विवादपछि भोलिपल्ट युवाको हुल आफ्नो टोलमा आएपछि झगडा गर्न आएको भन्दै रानीवनका युवाहरू मिलेर ढुंगेधाराका युवालाई लखेट्न थालेपछि झडप भएको एसपी राठौरले बताए ।

रानीवनबाट शुरु भएको टोलेगुण्डाहरूको झगडा ढुंगेधारासम्म आइपुगेको थियो । झडपमा चार जना घाइते भएका थिए । घाइते हुने दुबै पक्षका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी निरञ्जन भट्टले झगडा गर्ने समूह टोले गुण्डा भएको बताएका छन् ।

कुटाकुट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २७ वर्षीय वीरेन्द्र धानुक र ३० वर्षीय सुलिप देवकोटालाई पक्राउ गरेको डीएसपी भट्टले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको डीएसपी भट्टले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको भन्दै भट्टले थप एकजना पनि पक्राउ परेको बताए ।

Published : Saturday, 2020 September 5, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया