यी हुन् बहिनी बलात्कार गर्ने एमालेबाट निर्वाचित वडाध्यक्ष

कालिकोट । नाताले बहिनी पर्ने किशोरी बलात्कार गरेको अभियोगमा कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष जगधिश शाही जेल चलान भएका छन् ।

तत्कालीन एमालेबाट निर्वाचित खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

५१ वर्षीय वडाध्यक्ष शाहीले १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत कालिकोटले २४ दिनका लागि पुर्पक्षमा राख्न जेल चलान गरेको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन् ।

जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको छ ।

वडाध्यक्ष शाहीले बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यस बेला किशोरी १३ वर्षकी थिइन् ।

शाहीले दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया देखाउनेजस्ता व्यवहारले किशोरी वडाध्यक्ष शाहीसँग नजिकिएको र त्यसको फाइदा उठाएर किशोरीमाथि पटक–पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।

वडाध्यक्ष शाहीले एक पटक ६४० रुपियाँको घडी मोल्फा बजारबाट किनेर ल्याइदिएका थिए । पीडित किशोरी र वडाध्यक्ष शाहीको मेडिकल रिपोर्ट आएको छैन् । परीक्षणका लागि नमूना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

किशोरी वडाध्यक्ष शाहीबाट भाग्न थालिन् । २०७६ साल भदौ १७ गते बिरामी परेर घरमा सुतिरहेकी किशोरीलाई वडाध्यक्ष शाहीले बलात्कार गर्दै गर्दा किशोरीकी साथीले देखेकी थिइन् ।

२०७७ असार पहिलो साता दाँहाँदेखि चुलीमालिकासम्म पर्यटकीय सडक खन्ने डोजर लिएर वडाध्यक्ष लेखतिर जाँदै गर्दा बाटोमा बाख्रा चराउन गएकी ती किशोरीलाई एक्लै भएको मौका छोपी बलात्कार गरेका थिए ।

वडाध्यक्ष शाही र ती किशोरीको अनैतिक सम्बन्ध रहेको गाँउमा हल्ला चलेपछि पीडित किशोरीले घरमा भनेकी थिइन । त्यसपछि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा जाहेर दिएका थिए ।

प्रहरीले वडाध्यक्ष शाहीलाई असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणीमा मुद्दा दर्ता गरेको छ ।

Published : Sunday, 2020 August 9, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया