यी हुन् घोराहीमा उत्पात मच्चाउने नक्कली सई र असई

घोराही । दाङको घोराहीमा दुई जना नक्कली प्रहरीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९, दक्षिण कर्मटुवाका ३० वर्षीय सुरोज नेपाली रहेका छन् । नेपालीले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत सई योगेन्द्र हमालको नाममा नक्कली परिचय दिएर कानून विपरितका हर्कत गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालीले घोराहीको ट्राफिक चोकस्थित लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकहरूलाई अभद्र व्यबहार गर्नुका साथै मासिक रूपमा रकम दिनुपर्ने भनी धम्क्याएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सल्यान जिल्लाको दार्मा गाउँपालिका ४, भलचौर बस्ने ३० वर्षीय गोपाल मल्ललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत असई भनेर घोराहीको ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा गई फ्रिमा खाने गरेको र होटल सञ्चालकहरूलाई धम्क्याई अभद्र व्यबहार गर्ने गरेको दाङ प्रहरीले जनाएको छ ।

नेपाली र मल्ललाई साउन १७ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय दाङबाट आइतबार १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Published : Sunday, 2020 August 2, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया