सुनकाण्डमा दरबारमार्गका डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । साढे १४ चाँदी र आधा किलो सुन काण्डमा परेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई हटाइएको छ ।

दरबारमार्ग प्रहरी वृत्तको जिम्मेवारी डीएसपी रामेश्वर पौडेललाई दिइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले डीएसपी दाहाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको जानकारी दिएका छन् ।

मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ किलो चाँदी र आधाकिलो सुन काण्डमा डीएसपी दाहालले जिम्मेवारीअनुसारको काम नगरेको भन्दै आलोचना भएको थियो । सोही कारण उनलाई दरबारमार्गबाट हटाइएको छ ।

बुधबार महानगरीय प्रहरी कार्यायल रानीपोखरीले डीएसपी दाहालमाथि छानविन गर्न एसएसपी सुशीलकुमार यादवको नेतृत्वमा अपराध महाशाखाका एसएसपी दीपक थापा, काठमाडौं परिसरका एसपी सोमेन्द्र सिंह राठौर, डीएसपीद्वय दुर्गा दाहाल र राजकुमार केसीसहित छानविन समिति गठन गरेको थियो ।

सोही समितिको छानविनका आधारमा डीएसपी दाहालको कमजोरी देखिएपछि उनलाई हटाइएको छ ।

Published : Thursday, 2020 July 30, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया