माेस्टवान्टेड भारतीय नागरिक छ वर्षपछि वीरगञ्जमा पक्राउ

जनकपुरधाम । २ नं. प्रदेश प्रहरी कार्याल जनकपुरधामले बारा जिल्लामा भारतीय नागरिकको हत्या गरेर फरार रहेका अर्का भारतीय नागरिकलाई छ वर्षपछि पक्राउ गरेको छ ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ गहवा टोलमा लुकीछिपी बसोबास गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा भारतीय नागरिक ४६ वर्षीय धर्मेन्द्रप्रसाद कलवारलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय नागरिक कलवारले ०७१ साल वैशाख ९ गते धारिलो हतियार प्रहार गरी बारा जिल्लाको तत्कालीन विश्रामपुर गाविस वडा नम्बर ९ स्थित गहुँ खेतमा भारतीय नागरिक प्रमोद साह तुरहालाई हत्या गरेर फरार भएको २ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

अभियुक्त वीरगञ्जमा लुकेर बसेको सूचना पाएपछि प्रहरी टोली पठाएर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको डीआईजी सिंहले बताए ।

हत्या गरिएका साह भारतको रक्सौल निवासी हुन् । उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ गहवा टोलमा बस्दै आएका थिए ।

अभियुक्त कलवार भारतको वेतिया पश्चिम चम्पारण घर भइ वीरगञ्जको गहवा टोलमा बस्दै आएका थिए ।

कलवारलाई साउन २ गते २ नं. प्रदेश प्रहरीको कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको थियो ।

Published : Sunday, 2020 July 19, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया