दाङ मोटरसाइकल चोरहरू सार्वजनिक

घोराही । प्रहरीले दाङमा मोटरसाइकल चोरहरूलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर दश मोटरसाइकलसहित १४ जनालाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गर्नेमा घोराही उपमहानगरपालिका–१३ का १८ वर्षीय संजय परियार, घोराही–१४ का २३ वर्षीय समिर सुनार, २१ वर्षीय सुवास कार्की, ३५ वर्षीय केन्द्रबहादुर डाँगी रहेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

घोराही–१६ का २१ वर्षीय सागर हमाल, घोराही–१७ का २३ वर्षीय निरज योगीपनि मोटरसाइकल चोरीमा संलग्न रहेको चन्दले बताए ।

लमही नगरपालिका–७ का २५ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय पाल्टुराम चौधरी, २७ वर्षीय हेमन्त गिरी, २४ वर्षीय धनीराम चौधरी, राजपुर गाउँपालिका–२ बेलाका १९ वर्षीय आयोज चौधरी, २२ वर्षीय प्रियतम चौधरी, २७ वर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ वर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रमुख चन्दले बताए ।

ती मोटरसाइकलहरू दश हजारदेखि ६० हजारसम्म बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि पक्राउ गरेको छ ।

चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली ब्लुबुक बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ का ४८ वर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६का २१ वर्षीय अव्दुल हफिस सिद्धिकी, ३७ वर्षीय जीवन पोख्रेल, ३२ वर्षीय विष्णु घिमिरे र वडा नम्बर–५ का चक्रबहादुर वली छन् ।

प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थान र एक लाख रुपियाँ नगदसहित पक्राउ गरेको छ ।

Published : Sunday, 2020 July 19, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया