ललितपुरमा सेनाकाे मेजर हुँभन्दै उत्पात मच्चाउने यी व्यक्ति को हुन् ?

चापागाउँ । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा नेपाली सेनाको मेजर बताउने सुरेश विष्ट पक्राउ परेका छन् ।

शुक्रबार राति विष्टलाई मादक पदार्थ सेवनी गरी हिँडिरहेको अवस्थामा चापागाउँ प्रहरीले पक्राउ गरेको हो । नेपाली सेनाको मेजर हुँभन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी कृष्णराज ओझाले बताए ।

ओझाले पक्राउ परेका विष्टले ०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी ०६३ वैशाख ११ गते बर्खास्त भएको जानकारी दिए ।

नेपाली सेनाको बर्दीसहित १ थान कपडा पनि विष्टसँग बरामद गरिएको छ ।

‘सुरेश विष्टलाई हिरासतमा राखी अनुसन्धानका लागि राखिएको छ’, डीएसपी ओझाले भने, ‘नेपाली सेनाको मेजर भनेर ठगी गरेको छ वा छैनभन्नेबारे अनुसन्धान भइरहेको छ ।’

सेनाको मेजर हुँ भनेर भने पनि विष्टले गलत कार्य नगरेको प्रारम्भीक अनुसन्धानबाट नखुलेको डीएसपी ओझाले बताए । विष्टले सेनाको पोशाक दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइने प्रहरीले उल्लेख गरेको छ ।

‘सेनाको मेजर होला भनेर शुरुमा सैनिक प्रहरी बोलाएको थिएँ’, डीएसपी ओझाले भने, ‘सैनिक प्रहरीले व्यारेकमा फोन गर्दा विष्ट नक्कली मेजर रहेछ ।’

विष्टले आफू कंङ्गो जान लागेको भन्दै यसभन्दा अगाडिका डीएसपी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसँग बसेरसँगै चिया खाएको प्रहरीले जनाएको छ ।

उनको घर गोदावरी नगरपालिका वडा नम्बर २, विष्टछापमा पर्छ । विष्टले जग्गासम्बन्धी कारोबार गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

Published : Saturday, 2020 July 18, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया