देशभरिका होटेल व्यवसायीहरूद्वारा राहत र छुटको माग, भेदभाव नगर्न चेतावनी

काठमाडौं । देशभरिका होटेल व्यवसायीहरूको साझा संस्था ‘होटेल व्यवसायी महासंघ’ले लकडाउनका कारण व्यवसाय नै संकटमा परेको भन्दै सरकारसँग राहत र छुटको व्यवस्था गर्न माग गरेको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लकडाउन अवधिभरिको घरभाडा पूर्ण रुपमा छुट गर्न माग गरेको छ । महासंघका अध्यक्ष हिराध्वज शाहले संक्रमणकाल रहेसम्मका लागि ५० प्रतिशतको छुट माग गरे ।

‘लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट र संक्रमणकालभरि ५० प्रतिशत छुटका लागि घरधनीलाई समेत राहत पुग्ने गरी बैंक ब्याजको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरूले तिर्नुपर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करहरू छुट गर्नका लागि स्थानीय तहसँगको समन्वयमा विशेष राहत कोषमार्फत सम्बोधन गरेर त्यसको वातावरण मिलाइयोस्’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य अवस्थामा होटेल व्यवसाय नफर्किदासम्म बिजुली, पानी, टेलिफोन, इन्टरनेटलगायतको महसुलमा सहुलियतको व्यवस्था गर्न महासंघले माग गरेको छ ।

होटेल व्यवसायीहरूले लकडाउन र महामारीले व्यवसाय नै समस्यामा परेको भन्दै एक वर्षको कर र सबै प्रकारका राजश्वमा छुट माग गरेका छन् ।

व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा दुई वर्ष थप गरी सो अवधिको ब्याजमा सहुलियत दर कायम गराइ साँवामा गाभिदिने व्यवथा गर्न माग गरेका छन् ।

होटेल व्यवसायीहरूले राज्यबाट अहिलेसम्म कुनै पनि किसिमको व्यवासयिक सुविधा नपाएको भन्दै तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्यांकन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरिएको छ ।

उनीहरूले व्यवसाय सञ्चालनका लागि आर्थिक समस्या परेको भन्दै सफ्ट ऋणको माग गरेका छन् ।

महासंघमा देशभर छरिएर रहेका ८० हजारभन्दा बढी होटेल व्यवसायीहरूलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेको भन्दै व्यवसायीहरूले संशोधनका क्रममा रहेको पर्यटन ऐन २०७६ मा होटेल व्यवसायी महासंघलाई पनि समेट्न माग गरिएको छ ।

महासंघका अध्यक्ष शाहले आफूहरूका माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै माग पूरा नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापालाई आफूहरूको समस्या समाधानका लागि पहल गर्न दवाव दिने उदेश्यले ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको शाहले बताए ।

अध्यक्ष शाहले होटेल व्यवसाय सञ्चालन गर्न लिइएको ऋण लकडाउन र महामारीका कारण तिर्न नसक्दा व्यवसायीहरू डिप्रेसनमा जानेदेखि आत्महत्यासम्मको अवस्थामा आउने हो कि भनेर महासंघ चिन्तित रहेको बताएका छन् ।

उनले ठूला र तारे होटेलहरूलाई सरकारले सहुलियत दिए पनि महासंघमा आबद्ध होटेलहरूलाई राहत र छुट नदिएको भन्दै आक्रोश प्रकट गरेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेकुमार चुकेले होटेल व्यवसायमा लकडाउन र कोरोना भाइरसको महामारीका कारण १९ अर्ब रुपियाँ नोक्सानी भएको बताएका छन् । उनले होटेल व्यवसाय गर्नका लागि व्यवसायीहरूले बैंकबाट १ खर्बभन्दा धेरै रकम ऋण लिएको बताए ।

महासंघका सचिव शंकर भण्डारीले सरकारलाई कोरोनाको संक्रमणका बेला आफूहरूले क्वारेन्टिनका लागि होटेल निःशुल्क दिने भनेर चाबी नै दिन तयार भएको अवस्थामा अहिले आएर सरकारले व्यवसायीहरूका समस्या नबुझिदिँदा आफूहरू संकटमा परेको बताए ।

उनले यस्तो महामारीका बेला सरकारले व्यवसायीहरूलाई राहत, छुट र विभिन्न कार्यक्रमहरू दिएर व्यवसायको वातावरण बनादिनुपर्ने बताए ।

Published : Thursday, 2020 June 25, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया