निर्माता संघद्वारा सिनेमाहरूको तथ्याङ्क माग, क्षति न्युनीकरणकाे उपाय खाेजिने

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले कोरोना भाइरसको संक्रमणबाट जोखिममा परेको फिल्म उद्योगलाई सहज र सुचारु गर्ने विषयमा सुझावहरू संकलन शुरु गरेको छ ।

संघका महासचिव रोज राणाले विज्ञप्ति जारी गरेर कोरोनाको प्रकोपबाट नेपाली चलचित्र उद्योग नराम्री प्रभावित भएको भन्दै सरकारसँग सो विषयमा सम्वाद गरिने बताएका छन् ।

उनले फिल्म निर्माता र हल सञ्चालकहरूसँग सुझावहरू माग गरेका हुन् ।

‘कोरोनाबाट चलचित्र क्षेत्रमा परेको असर र प्रभाव तथा भविष्यमा पर्नसक्ने सम्भावित असर र जोखिमहरू आगामी दिनहरूमा चलचित्र क्षेत्रले झेल्नेनै छ’, महासचिव राणाले भनेका छन्, ‘यस महामारीको सापेक्षतामा नेपाल चलचित्र निर्माता संघले कोरोनाबाट चलचित्र उद्योगलाई परेको असर र यसका समाधानका उपायहरूका वारेमा नेपाल सरकारका विभिन्न निकाय समक्ष लिखित रूपमा ज्ञापन पत्र, माग पत्र बुझाएको र निरन्तर ताकेता समेत गरिरहेको छ ।’

‘हामी आशावादी रहन सक्छौँ की नेपाल सरकारले हाम्रो यस अनवरत प्रयासलाई सकारात्मक रूपमा लिइ चलचित्र उद्योलाई चलायमान बनाउनका लागि भरमग्दूर साथ र सहयोग गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको महामारीबाट चलचित्र उद्योगको गतिविधि शून्य रहेको विषम परिस्थितिमा नेपाल चलचित्र निर्माता संघले कोरोनाबाट प्रत्यक्ष असर परेको सिनेमाहरूको विवरण अद्यावधिक गरी राज्यका संयन्त्रहरूसंग उचित व्यवस्थापनको लागि संवाद र सहकार्य गर्न लागेको जनाएको छ ।

महासचिव राणाले सम्बन्धित निर्माण पक्षले संघको कार्यालयमा यथासक्य चाढो समपर्क गरी फिल्मसम्बन्धी विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।

संघले निर्माताहरूसँग प्रदर्शनका लागि तयारी अवस्थामा रहेका सिनेमाहरूको सूची माग गरेको छ ।

पोष्ट प्रोडक्सन कार्य भइरहेका सिनेमाहरू, छायाङ्कन समाप्त भएका सिनेमाहरू र कोरोनाका कारणले छायाङ्कन कार्य रोकिएका सिनेमाहरूका बारेमा महासचिव राणाले तथ्याङ्क माग गरेका हुन् ।

Published : Thursday, 2020 June 18, 7:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया