राप्ती गाउँपालिकामा कुखुरा र दाना खुवाउने भाँडा वितरण

तीर्थराज ज्ञवाली

भुल्के । दाङको राप्ती गाउँपालिकाले विपन्न परिवारहरूको आर्थिक अवस्था सुधारका लागि उन्नत तथा लोकल कुखुरा वितरण गरेको छ ।

गाउँपालिकाको पशुसेवा शाखाले गरिव, अति विपन्न, जनजाति, दलित र पिछडिएका वर्गलाई आयआर्जनका लागि कुखुरा वितरण गरेको हो ।

वडा नम्बर १ देखि ८ सम्मका ६ सय ४० परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको राप्ती गाउँपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेरबहादुर हमालले जानकारी दिए ।

प्रतिकिसान ५ वटाका दरले वितरण गरिएको कुखुरा वडा नम्बर १ देखि ८ वडासम्म क्रमशः १२०, ८०, ७०, ७०, ८०, ७०, ८०, ७० घर परिवारलाई वितरण गरिएको छ ।

मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्ने उदेश्यका साथ कुखुरा वितरण गरिएको छ ।

१० हजार बढि घरधुरी रहेको राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सबै घरमा सेवा पुग्ने गरि कार्य गरिएको छ ।

प्रत्यक्ष लाभान्वित कृषकहरूको संख्या समेत उल्लेख्य रहेको पशुसेवा शाखाका पशु सेवा प्राविधिक हमालले बताए ।

राप्ती गाउँपालिकाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत राप्तीको वडा नम्बर ५ को भुल्के गाउँका सबै घरपरिवार ३२ घरपरिवारलाई समेत उन्नत जातको कुखुरा वितरण गरिएको छ ।

भुल्के गाउँलाई लोकल कुखुराको हवको रुपमा विकास गर्ने उदेश्य तथा गरिवी न्युनीकरणमा सहयोग पु¥याउन प्रतिघर १३ वटाको दरले कुखुरा वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टीका बस्नेतले बताए ।

३२ घरलाई १३ वटाको दरले स्थानीय लोकल कुखुरा, रोगविरुद्ध औषधि, दाना खुवाउने भाँडा समेत वितरण गरिएको छ । लोकल कुखुरा र दाना खुवाउने भाँडा समेत वितरण गरिएको छ ।

वडाध्यक्ष गोवर्धन रावत, प्रशासन प्रमुख विकास ज्ञवाली, सहजकर्ता बस्नेत, प्राविधिक हमाल, पशु स्वास्थ्य प्राविधिक कमल पुन तथा सुवास भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Published : Monday, 2020 June 8, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया