१४ खर्बसम्मको बजेट ल्याउन कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा.रामशरण महतको संयोजकत्वमा एक अर्थतन्त्र विशेष समिति गठन गरेको थियो ।

समितिले अध्ययन गरी २७ पृष्ठ लामो प्रतिवेदनको मस्यौदा तयार पार्दै सरकारलाई १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुनप्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिइएको छ ।

राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गर्दै कांग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ ।

स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ ।

समितिले आरटी पीसीआर विधिबाट गरिने परीक्षणलाई ब्यापकता दिई कम्तीमा जनसंख्याको २ देखि ३ प्रतिशत व्यक्तिमा तत्काल परीक्षणको व्यवस्था गर्न सुझाएको छ ।

अग्रपंक्तिमा रहेर काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी तथा जोखिममा रहेका जनशक्तिहरूको आवश्यकता अनुसार जाँच गर्न सुझाव दिएको छ ।

Published : Sunday, 2020 May 24, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया