सम्झना, निलिमा र आकृतिलाई झ्याम पार्ने चापागाइँ आखिर को हुन् ?

काठमाडौं । महानगरीय अपराध महाशाखा, टेकु, काठमाडौंले विभिन्न ठगी धन्दा चलाउँदै आएका राजकुमार चापागाइँलाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीय चापागाइँलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार चापागाइँले आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) भनेर प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए ।

उनले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपूर्ण पदमा जागिर लगाई दिन्छु भनी बिभिन्न प्रलोभनमा पारेर मोटो रकम असुल्दै आएका थिए ।

चापागाइँले पीडितहरूलाई खरिदार पदको नक्कली परिचय पत्र समेत बनाई झुक्याउने गरेका थिए ।

पीडितबाट पटक–पटक एक लाख पचासी हजार लिई ठगी कार्य गरेको भनेर महाशाखामा प्राप्त सूचनाको आधारमा विशेष टोलीले पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसँग एक लाख वीस हजार लिँदै गर्दा पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

को हुन् राजकुमार चापागाइँ ?

वर्ष ४५ का चापागाइँ काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ३, बालाजु निवासी हुन् । उनले जग्गाको कारोवार गर्दै आएका थिए ।

चापागाइँले ०७२ असार २४ गते निलिमा महर्जन र आकृति डंगोलसंग प्रतिव्यक्ति २ लाखको दरले ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरेका थिए ।

विभिन्न समयमा आफूलाई उच्चपदस्थ अधिकारीहरूको पीए भनेर कारागार तथा सीडीओ कार्यालयहरूमा फोन गरी कैदीहरूलाई रिहा गर्न आदेश दिने गर्दै आएका थिए ।

आफूलाई प्रहरीको उच्च अधिकृत हुँ भनी उनले बिभिन्न व्यक्तिहरूलाई धम्क्याउने गरेको पनि थिए ।

खोटाङ जिल्लाको ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी उनले दुई लाख रुपियाँ समेत ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भन्ने, सवारी चालक अनुमति पत्र बनाई दिने भनेर पनि उनले ठगी धन्दा चलाउँदै आएका थिए ।

चपागाइँसँग प्रहरीले फोटो टाँसिएको रामबहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को नक्कली परिचय, खरिदार पदको नक्कली परिचय पत्र २ थान, बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर थान १, मोबाईल थान १, सिमकार्ड थान ३, पासपोर्ट साईजको फोटोहरू थान १० र एक लाख वीस हजार रुपियाँ नगद पनि प्रहरीले बरादम गरेको जनाएको छ ।

Published : Thursday, 2020 May 21, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया