सार्क मुलुकबीच पछि कागज पेस गर्ने सर्तमा व्यापार गर्न सकिने

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य मुलुकबीच अनलाइनबाट उत्पत्ति प्रमाणपत्र वा पछि कागजात पेस गर्ने सर्तमा व्यापार गर्न सकिने भएको छ ।

कोरोना महामारीका वेला व्यापारलाई थप सहजीकरण गर्न सार्क सदस्य मुलुकले कागजपत्रको झन्झटलाई यसरी सुल्झाउने समझदारी गरेका हुन् ।

सार्कका वाणिज्य सहसचिवबीच बुधबार भएको भिडिओ कन्फरेन्समा उत्पत्ति प्रमणपत्रविनै आयात–निर्यात गर्न दिनेलगायत समझदारी भएको हो ।

महामारीका कारण उत्पत्तिको प्रमाणपत्र जारी गर्न तथा भन्सारसम्म पेस गर्न समस्या हुने भएकाले त्यस्ता कागजको फोटोकपी वा फोटो पेस गर्दा पनि हुने अथवा पछि पेस गर्दा पनि हुने गरी समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

‘कोरोना महामारीले निम्त्याएको असहज परिस्थितिमा उत्पत्तिको प्रमाणपत्रलगायत कागजात पेस गर्न समस्या देखिएको छ, त्यही भएर सूचना प्रविधिका माध्यमबाट यस्ता कागजाज पेस गर्दा पनि हुने गरी समझदारी भएको छ’, ढकालले भने ।

खासगरी भारतसँगको व्यापारमा यस्तो समझदारी तत्काल कार्यान्वयनमा आउने ढकालले बताए ।

‘नेपाल र भारतबीच यसअघि पनि भिडिओ कन्फरेन्स भएको थियो’, उनले भने, ‘दुई मुलुकबीच व्यापार सहजीकरणका लागि यस्ता थुप्रै समझदारी भएका छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा २ चैतमा सार्ककका सदस्य राष्ट्र कार्यकारी प्रमुखबीच भिडिओ कन्फरेन्स आयोजना भएको थियो । त्यहाँ भएका समझदारीलाई कार्यान्वयनका लागि वाणिज्यतर्फको वार्ता बुधबार भएको हो ।

वाणिज्य सहसचिवस्तरको वार्ताको संयोजन पनि भारतीय पक्षले गरेको थियो । सार्कका ८ सदस्यमध्ये पाकिस्तान भने सहभागी भएन ।

Published : Thursday, 2020 April 9, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया