लकडाउनका बेला भक्तपुरमा टाउको नभएको महिलाको शव भेटियो

भक्तपुर । भक्तपुर जिल्लाको हनुमन्ते खोलामा टाउको नभएको महिलाको शव भेटिएको छ ।

महिलाको शव सोमबार साँझ मध्यपुरथिमि नगरपालिकाअन्तर्गत गठ्ठाघर र सूर्यविनायक नगरपालिकाअन्तर्गत बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन् ।

गठ्ठाघरको नागरिक अस्पतालको पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा भेटिएको महिलाको शवको सनाखत हुन सकेको छैन ।

करीव एकहप्ता अगाडि हत्या गरेर महिलाको शव खोलामा फ्याकिएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

महिलाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

करीब २८ देखि ३० वर्ष उमेरकी ती महिलाको शव शरीरमा नीलो सुरुवाल र कलेजी रङको कुर्था रहेको छ ।

टाउको नभएको शवको तिघ्रा र खुट्टामा जनावरले कोतरेर खाएको जस्तो देखिएको एसपी प्रधानले बताए । महिलाको शवको बायाँ हातको नाडी मुनिको भाग छैन । महिलालाई घाँटी रेटेर हत्या भएको अनुमान एसपी प्रधानले गरेका छन् ।

घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी हनुमन्ते खोलामा ल्याएर शव फ्याकेको हुनसक्ने अनुमान गरिएको छ ।

एसपी प्रधानले भने, ‘शवको टाउको छैन । घटनास्थलको अवस्था हेर्दा अन्तै बारदात गरेर खोलामा ल्याएर शव फ्याकेको हो कि भन्ने अनुमान गरेका छौँ ।’

‘शवलाई प्लाष्टिकमा बेरेर ठूलो झोलाभित्र राखेर त्यसलाई पनि बोरामा हालेर फ्याकेको अनुमान छ’, प्रधानले भने, ‘शव हेर्दा घटना कम्तिमा एक साताअघिको हुनुपर्छ ।’

घटनास्थलबाट प्रहरीले शव पोको पारिएको प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तार लगायतका सामग्रीहरू बरामद गरेको छ ।

एसपी प्रधानले घटनामा कसेको संलग्नता थियो भन्नेबारेमा अनुसन्धान शुरु भइसकेको जानकारी दिएका छन् । उनले दोषीलाई कडाभन्दा कडा सजाय दिने चेतावनी दिएका छन् ।

कोरोना भाइरसको संक्रमणका बेला देश लकडाउन भएका बेला काठमाडौं उपत्यकाभित्र टाउको नभएको महिलाको शव भेटिएको छ । अपराधमा संलग्न व्यक्तिले लकडाउनको मौका छापेर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

Published : Tuesday, 2020 March 31, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया