बोल्ड अभिनय गर्ने इच्छा छः आशा भुसाल

आशा भुसाल, नायिका

काठमाडौं । ‘सुनपानी’सहितका आधा दर्जन फिल्ममा अभिनय गरेकी नायिका आशा भुसाललाई सबै प्रकारको अभियन गर्न मन पर्छ । म्युजिक भिडियोहरूमा समेत खेल्न भ्याएकी भुसाललाई अहिले पनि फिल्महरूको लागि अफर आइरहन्छन् ।

सबै खालका अभिनय गरिसकेकी भुसालले बोल्ड अभियन गर्ने धोको राखेकी छिन् । स–साना ब्यानरका फिल्महरू खेलेपनि भुसाललाई नाम चलेका ब्यानरमा काम गर्ने इच्छा छ । अहिलेसम्म उनले गरेका अभियनबाट भुसाल खुसी छिन् ।

नेपाली फिल्म क्षेत्रमा लागेका डेढ दशक भइसकेको बताउने भुसालले म्युजिक भिडियोमा पनि बेलाबेला अभियन गर्ने गरेकी छिन् । भन्छिन्, ‘फिल्म खेल्ने समयमा फिल्म खेल्छु । म्युजिक भिडियोमा पनि खेल्ने गरेको छु । बाँकी समय आफ्नै व्यवसाय छ ।’

आफूले अभिनय गरेका फिल्महरूका विषयमा उनले भनिन्, ‘मैले आफूले गरेको मूल्यांकन कसरी गरु ? मेरो मूल्यांकन दर्शकले गर्ने हो ।’ सबै प्रकारका अभियन गर्न सक्ने क्षमता राख्ने भुसाललाई फरक शैलीका अभिनय गर्ने इच्छा । नेपालीसहित भोजपुरी फिल्महरूमा पनि नायिका भुसालले अभिनय गरेकी छिन् । भोजपुरी फिल्महरूमा काम गर्दा अलिक फरक अनुभव रहेको उनले बताएकी छिन् ।

अहिलेसम्म अविवाहित रहेकी भुसाललाई घरपरिवारबाट विवाहका लागि दवाव पनि छ । भुसालले आफूलाई मन पर्ने जोडी पाएकी छैनिन् । भन्छिन्, ‘विवाह गर्छु भनेर पनि नहुँदो रहेछ । आफूलाई पनि मन पर्ने केटा चाहिँदो रहेछ ।’ रुपमा भन्दा पनि मन र माया दुबै बुझेको युवकसँग विवाह गर्ने उनको धोको छ ।

विवाह र माया प्रेमका लागि भुसाललाई दैनिक सरह प्रस्ताव आइरहन्छन् । भन्छिन्, ‘माया गर्छु भन्नेहरूको कुनै कमी छैन । सबैभन्दा ठूलो कुरा मन मिल्नुपर्ने रहेछ ।’

फिल्म क्षेत्रमा लाग्दा घर परिवारबाट भुसाललाई असहयोग थियो । ‘फिल्ममा लाग्न मलाई घर परिवारबाट धेरै सहयोग थिएन’, उनले भनिन्, ‘समय परिवेशले आमाबुबाले सहयोग गर्नुभयो । अहिले सबैको सहयोग छ ।’ नायिका भुसालले सबै प्रकारका गीत संगीत मन पराउँछिन् । विशेष गरेर उनलाई सेन्टिमेन्टल गीतहरू मन पर्छ । गायक गायिकाहरूका विषयमा उनलाई धेरै ज्ञान छैन । आफूलाई गीतको लय, शब्द र संगीतले छोयो भने ती गीतहरूलाई सधैँ सुन्ने गरेको उनले बताइन् ।

रहरले फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका भुसालले समय र उमेरले साथ दिँदासम्म अभियन गर्ने बताउँछिन् । उनलाई दीपाश्री निरौला र दीपकराज गिरीको निर्देशनमा बन्ने फिल्महरूमा अभिनय गर्ने ईच्छा छ । भन्छिन्, ‘दीपा र दीपकको निर्देशनमा काम गर्ने ईच्छा छ । उहाँहरूको निर्देशन र अभिनय मलाई मन पर्छ ।’ भविष्यमा उनलाई फिल्म निर्देशन गर्ने इच्छा पनि छ । उनले भनिन्, ‘समयले के गर्छ हेरौँ ।’ घुमफिर, साथीभईहरूसँग रमाइलो गर्ने विषय नायिका भुसालका रुचिका विषय हुन् ।

पछिल्लो समयका नयाँ कलाकारहरूमा राम्रो दख्खल रहेको उनको भनाइ छ । ‘समयअनुसारका कलाकार आएका छन्’, उनले भनिन्, ‘कलाकारहरूका विषयमा धेरै चिन्ता आवश्यक छैन । नयाँ पुस्ताका कलाकारमा धेरै खुबी छ ।’

नेपालीहरू फिल्महरू पहिलाभन्दा धेरै राम्रो बन्ने गरेको उनले बताइन् । प्राविधिक, कलाकार, गीत, संगीत हरेक विषयमा नेपाली फिल्महरू उत्कृष्ट रहेको नायिका भुसालको भनाइ छ । ‘नेपाली फिल्महरू पनि अन्तर्राष्ट्रियस्तरका छन्’, उनले भनिन्, ‘नेपाली फिल्मको मेकिङमा प्रश्न गर्ने ठाउँ छैन ।’ नयाँ पुस्ताका निर्देशकहरू पनि धेरै राम्रो रहेको नायिका भुसालले बताएकी छिन् ।

म्युजिक भिडियोहरूमा तपाईको रुचि कत्तिको छ भन्ने जिज्ञासामा नायिका भुसालले भनिन्, ‘रुचि छ । राम्रा गीतहरूमा अभिनय गर्न पाउनु भनेको दर्शकका माझ रहिरहनु पनि हो ।’ म्युजिक भिडियो उनको धेरै रुचि छ । कसैले म्युजिक भिडियोका लागि अफर गर्‍यो भने नायिका भुसालले अस्वीकार गर्दिनन् । तर, गीतको संगीत, शब्द र अन्य प्राविधिक विषयमा भुसालले ध्यान दिने गरेकी छिन् । उनले जस्ता पायो त्यस्ता गीतहरूमा अभिनय गर्न मन गर्दिनन् ।

Published : Thursday, 2020 March 5, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया