काठमाडौं मलमा भित्रियो ‘सपना जेभी’, व्यापारीद्वारा स्वागत

काठमाडौं । ठेक्का पाएपछि काठमाडौं सुन्धरास्थित ‘काठमाडौं मल’को जिम्मेवारी ‘दिवा सपना जेभी’ प्रा. (लि)ले सम्हालेको छ ।

कम्पनीले बुधबार व्यवस्थापन करारको जिम्मेवारी लिएको हो । काठमाडौं मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा पाएको दिवा सपना जेभीलाई बुधबार विशेष कार्यक्रम गरेर स्वागत गरेको रश्मिलाज् फेसियल हाउसका सञ्चालक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

व्यवस्थापन टिममा हरिप्रसाद ढकाल, विष्णुहरि ढकाल र कुमार पाण्डे रहेका छन् ।

कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले काठमाडौंको केन्द्र भागमा रहेको काठमाडौं मललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनेबारेमा कोषमा छलफल भइरहेको बताए ।

उनले कोषको सोही उदेश्य अनुरुप आफूलाई उत्साहित बनाएर समय अनुसार ग्राहकको मन जित्ने गरी व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

१५ वर्षअघि नेपालको आकर्षक मल निर्माण गरिएको थियो । मलभित्रको आन्तरिक विवाद र खिचातानीका कारण काठमाडौं मल समस्यामा परेको थियो ।
समयको माग अनुसार काठमाडौं मललाई आकर्षक बनाउन ढिलो भैसकेकाले तत्काल सौन्दर्यकरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताएका छन् ।

हाललाई ५ वर्षको निम्ति व्यवस्थापन करार गरेको भए पनि राम्रो व्यवस्थापन गरेर देखाएमा व्यवस्थापन करारको समय थप गर्न सकिने गौतमले बताए ।

दिवा सपना जेभीको तर्फबाट परियोजना प्रमुख विष्णुहरि ढकालले काठमाडौं मलका व्यवसायीहरू, व्यवस्थापन पक्ष र कोष तीन वटै पक्षको साझा उद्देश्य व्यापार बृद्धि गर्नु रहेको बताए ।

व्यापार बृद्धिको लागि मलको आकर्षण र मलभित्रका विशेषताहरू प्रमुख विषय भएको भन्दै उनले तीन पक्षको सामूहिक प्रयास र सकारात्मक पहलबाट उद्देश्य प्राप्त गर्न सकिने बताए ।

दिवा सपना जेभी ‘क’ वर्गको प्रतिष्ठित कम्पनी भएको बताउँदै परियोजना प्रमुख ढकालले सबै आफूहरू पारदर्शी भएर काम गर्न तयार रहेको बताए ।

कर्मचारी सञ्चय कोष सम्पत्ति व्यवस्थापन विभाग प्रमुख भरत वस्तीले काठमाडौं मलको ‘बी’ ब्लक धरहरा निर्माणको क्रममा भत्कने भएकाले त्यसमा व्यवसाय गरेर बसेका व्यवसायीहरूलाई मर्का परेको विषयमा कोष गम्भीर रहेको बताए ।

कोषको तर्फबाट राहात स्वरुप सहयोग गर्ने विषयमा आवश्यक छलफल भइरहेको उनले बताएका छन् ।

कठमाडौं मल व्यवसायी संघका सचिव मुरारी कोइरालाले वरिपरिका मल लगायत व्यापारको अवस्था अध्ययन गरेर बजार मूल्यमा राहत हुने गरी भाडा निर्धारण गर्न आग्रह गरेका छन् ।

काठमाडौं मललाई आकर्षक एवं सुविधा सम्पन्न बनाउन उनले माग गरेका छन् । कोइरालाले ब्लक ‘बी’का व्यवसायीहरूलाई कोषको तर्फबाट राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।

दिवा सपना जेभीले ‘ए’ ब्लकमा खाली रहेको स्थानमा ‘ब’ ब्लकका ईच्छुक व्यवसायीहरूलाई प्राथमिकता दिनु पर्ने कोइरालाले बताए ।

Published : Thursday, 2020 January 23, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया