काठमाडौंमा गोली चल्यो, गुण्डा नाइके घाइते

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धमा आइतबार साँझ गोली हानेर गुण्डा नाइके विष्णु लामा तामाङलाई पक्राउ गरेको छ ।

ज्यान मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोक जिल्ला निवासी तामाङलाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो ।

बौद्धस्थित जम्भुडाँडामा प्रहरीले तामाङलाई गोली हानेको थियो । गोली लागेका तामाङ घाइते छन् ।

उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

घाइते तामाङलाई उपचारका लागी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । तामाङमाथि बालिका हत्या अभियोगमा मुद्दा छ ।

प्रहरीले विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो । तामाङ भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको थियो ।

प्रहरीका अनुसार तामाङमाथि ०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग पनि छ ।

०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

Published : Sunday, 2020 January 12, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया