नेपाली फिल्म बनाउन अध्ययनको कमी छ: निर्देशक खकुरेल

काठमाडौं । सधैँभरि लोप्रोफाइलमा बस्न रुचाउन फिल्म निर्देशक जनकराज खकुरेललाई फिल्ममा नयाँ कथावस्तु भित्र्याउन असाध्यै मन पर्छ ।

फिल्म क्षेत्र उनका लागि अध्ययनको विषय नभएपछि काम गर्दै जाँदा कलेजमा पढेभन्दा पनि धेरै ज्ञान हासिल भयो । उनलाई फिल्ममा पुरानै कथाबस्तुलाई नयाँ तरिकाले पस्किदा दर्शकले मन पराउँछन् भन्ने राम्रो ज्ञान छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्न मोहन निरौला र ज्ञानेन्द्र देउवाको प्रेरणा ठान्ने खकुरेलले फिल्ममा निर्देशन गर्नका लागि धेरै हण्डर खाएका छन् ।

सहायक निर्देशकबाट प्रवेश गरेका खकुरेलले मुख्य सहायक निर्देशक हुँदै निर्देशक बन्न सफल भएका छन् । उनले ‘सम्झिदिए पुग्छ’बाट निर्देशन गरेका हुन् । त्यसपछि खकुरेललाई फिल्म निर्देशनमा राम्रै सफलता हात लाग्यो ।

त्यस बेला भिडियो फिल्महरू उनले धेरै नै निर्देशन गरेका थिए । त्यही अनुभवले खकुरेललाई फिल्म निर्देशन गर्न सजिलो भयो । अहिले पनि राम्रा फिल्महरूमा खकुरेलले कुनैन कुनै माध्यमबाट आफूलाई संलग्न गराउने गरेका छन् ।

०५९ सालतिर फिल्म निर्देशमा हात हालेका खकुरेलले ‘सम्झिदिए पुग्छ’लाई ५५ दिनभित्र छायाँकन गरेर सम्पूर्ण प्राविधिक काम सकेर फिल्म हलमा रिलिज गराएका थिए ।

राजवल्लभ कोइराला, युना उप्रेती, ऋच्चसिंह ठकुरी आदि कलाकारहरू खकुरेलले निर्देशन गरेका फिल्मबाट आएका कलाकार हुन् । उनीहरू कुनै समयमा चलेका कलाकारमा पर्छन् । सीताराम कट्टेलको ‘सेन्टीभाईरस’मा खकुरेलले क्रियटिभ निर्देशनको काम गरेका छन् । ‘कबड्डी कबड्डी’मा पनि उनको संलग्नता छ ।

हलिउड र बलिउडका फिल्ममा प्रयोग हुने सामानहरू नेपाली फिल्महरूमा पनि प्रयोग हुन थालेको बताउने निर्देशक खकुरेलले भने, ‘हामी नेपाली सिनेमा मेकरहरू आफ्नै दाजुभाईहरूका फिल्मसँग प्रतिस्पर्धा गर्दा समस्या आएको छ ।’ उनले अबका दिनमा नेपालीहरू हलिउड र बलिउडका फिल्मलाई टक्कर दिने गरेर फिल्म बनाउन हिम्मत गर्नुपर्ने बताउँछन् ।

कामको सुरुवात गर्दा विश्वास र ईमान्दारितामा आधारित भएर काम गर्नुपर्ने बताउने निर्देशक खकुरेललाई साधारण विषयबस्तुमा गहन अध्ययन गरेर फिल्म बनाउने ईच्छा छ । सामान्य विषयलाई बलिउडमा फिल्म बनाउँदा पनि सफल हुने तर, नेपालमा फिल्म सफल नहुनुमा अध्ययनको कमी भएको उनी बताउँछन् ।

Published : Friday, 2020 January 10, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया