कीर्ते गरी ठगी गर्ने गिरोहका नाइके पक्राउ

पथलैया । जिल्ला प्रहरी कार्यालय बाराले कीर्ते नागरिकता बनाइ रकम निकाल्ने सुरेन्द्र साहलाई पक्राउ गरेको छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ४ बस्ने किशोरी साहको छोरा सुरेन्द्र साहले वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा रहेका नेपाली गिरोहसंग मिलेर नक्कली नागरिकता बनाई रकम निकालेको अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

विदेशमा बसेका नेपाली कामदारहरूले आफ्नो घरमा रेमिटान्स मार्फत पठाएको रकम बारा जिल्लाको कलैया बजारमा रहेको बिभिन्न मनी ट्रान्सफरबाट कलैया बजारको भरत चोकमा रहेको शिवम् मनी ट्रान्सफरबाट आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३७ का राजकुमार कुशवाहाको नाममा उनका भाईले मलेसियाबाट पठाएको रकम रू.९५ हजार २०० निकाल्न लाग्दा सुरेन्द्र साहलाई पक्राउ गरिएको थियो ।

सोधपुछको क्रममा सुरेन्द्र साहले जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ६ बस्ने श्रीरामजी कुशवाहाको नाममा आएको रकम रू.१ लाख कलैयास्थित एशियन मनी ट्रान्सफरबाट तथा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ७ खजानी बस्ने रोशन साहको नाममा आएको रू.६० हजार समेत निकाली ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Published : Monday, 2020 January 6, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया