गुण्डा नाइके ‘दुर्गा’ र धिताल पक्राउ, ‘डन’ बाहुन-दावालाई झट्का

काठमाडौं । काठमाडौं प्रहरीले गुण्डा नाइके ‘दुर्गा’ भनिने देवान राई र विष्णु धिताललाई पक्राउ गरेको छ ।

राई र धितालको समूहले व्यापारीलाई माग गरेअनुसारको रकम नदिए हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की समेत दिँदै आएको प्रहरीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको कोटेश्वर, पेप्सीकोला क्षेत्रमा गुण्डागर्दी गर्दै आएका राई र धिताललाई प्रहरीले पक्राउ गरेपछि व्यापारीहरूले राहत महशुस गरेका छन् ।

दुर्गा’ जेलमा सजाय भोगिरहेका गुण्डा नाइके रमेश बाहुनका दाहिनेहात मानिन्छन् । ‘दुर्गा’ले कोटेश्वर, तीनकुने, बानेश्वर लगायतका क्षेत्रमा ‘बाहुन’को नाममा हप्ता असुली गर्दै आएको अपराध महाशाखाले जनाएको छ ।

गुण्डा नाइके ‘बाहुन’ले निर्माण व्यावसायी उद्योग व्यवसायी र रामेछापको हाइड्रोपावर सञ्चालकहरूलाई समेत जेलबाटै फोन गरी धम्क्याउने गरेको उजुरी प्रहरीमा परेको छ । ‘बाहुन’ले ‘दुर्गा’लाई नै रकम लिन पठाउने गरेको प्रहरीसँग रेकर्ड रहेको छ ।

बाहुन’ अपराधको जगतका बादशाह मानिन्छ । ‘बाहुन’ हाल लागूऔषध कारारोबारमा जेल जीवन बिताइरहेका छन् । जेलबाट सेटिङ मिलाएर बाहुनले व्यापारी, ठेकेदारहरूलाई फोन गरेर अबैध असुली गर्दै आएको स्रोतले जनाएको छ ।

गुण्डा नाइके रमेश बाहुनको समूहमा रहेर गैरकानूनी गतिविधि गर्दै आएका ‘दुर्गा’लाई प्रहरीले उच्च निगरानीमा राख्दै आएको थियो ।

गुण्डा नाइके ‘दुर्गा’ले हातहतियार तथा खरखजानाको मुद्धामा पाँच वर्ष जेल जीवन बिताइसकेका छन् ।

त्यसैगरी, पक्राउ परेका विष्णु धिताल गुण्डा नाइके दावा लामाका दाहिनेहात मानिन्छन् । गुण्डा नाइके धितालले गिट्टी, ढुंगा र बालुवा व्यापारीलाई धम्काउने कार्य गर्दै आएका थिए । प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो ।

को हुन् दुर्गा र धिताल ?

४४ वर्षीय ‘दुर्गा’ भन्ने देवान राई नवलपुर जिल्लाको देउचुली नगरपालिका वडा नम्बर १३ निवासी हुन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । राईलाई प्रहरीले पुस ४ गते अपरान्ह ५ बजे कोटेश्वरबाट पक्राउ गरेको थियो ।

४१ वर्षीय विष्णुबहादुर धितालको स्थायी घर काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ मा पर्छ । काठमाडौंको गोठाटारमा पुस ५ गते दिउँसो १ बजे कोटेश्वरबाट पक्राउ परेका थिए ।

Published : Sunday, 2019 December 29, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया