गायक रामकृष्ण ढकालको पर्दा उठ्न थाल्यो

काठमाडौं । गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएसँगै विभिन्न अड्कलबाजी शुरु भएका छन् ।

बुधबार रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालको जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद भएको थियो ।

शाहले सम्बन्धविच्छेदको लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन् । उनको निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासमा उनीहरूबीच सम्बन्धविच्छेदको लागि मिलापत्र भएको थियो ।

दुवैले सम्बन्धविच्छेद गर्न मञ्जुर रहेको भन्दै मिलापत्र गरेका हुन् । निलमले अंश नलिने गरी मिलापत्र भएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुको एउटी छोरी छन् । छोरी आमासँग रहने भएकी छन् ।

ढकाल र शाहबीच १७ वर्ष अगाडि ०५९ सालमा प्रेम विवाह भएको थियो । केही समय अगाडि श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर घर किनेपछि उक्त घरको ऋण तिर्न नसक्दा उनीहरूबीच विवादमा आएका थिए । उक्त घर सहकारीले नै लिलाम गरेर पनि अझैँ करोडौँ ऋण तिर्न बाँकी रहेको भन्दै सहकारीले पत्रपत्रिकामा सूचना नै जारी गरेको थियो ।

गायक ढकालले भने ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजेको प्रतिक्रिया सार्वजनिक गरेका थिए ।

सम्बन्धविच्छेद भएको दिन समाजिक सञ्जाल फेसबुकमा ढकालले भने आफ्नो र निलमको तस्वीर राख्दै मन छुने स्टाटस लेखेका छन् । फेसबुक पेजमा राखिएको तस्वीरमा उनले जसले जे भनेपनि आफूहरूको सम्बन्ध कहिले नमर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अरुले जे भनुन्, हाम्रो सम्बन्ध कहिले मर्दैन ।’ यति लेख्दै उनले तीन वटा माया (लभ)को इमोजी पनि राखेका छन् । उनको लभ रियाक्टले भने निलमप्रति प्रेम दर्शाउँछ ।

उनले सम्बन्धविच्छेदको खबरमाथिको खण्डन गरेझैँ स्टाटस राखेपछि उनका फ्यानहरुले शंका र प्रश्न उठाएका छन् । यदि सम्बन्धविच्छेद गर्नुपर्ने जरुरी नभए मुद्दा अदालतसम्म पुग्ने थिएन होला र यसरी फैसला भइसक्ने पनि थिएन ।

रामकृष्ण आफैँले भने यसको पुष्टि गरेका छैनन् । बरु उनले लेखेको स्टाटसले उनकै फ्यानहरुलाई भ्रमित तुल्याएको छ ।

डिभोर्स हुनुको भित्री कारण नबाहिरिएपनि बेला बखत उनीहरूको सम्बन्धमा खटपट आएको भनेर हल्ला नसुनिएको भने होइन् । उनीहरूको सम्बन्धबीच पूर्व युवराज पारस शाह पनि जोडिएका थिए ।

केही समय अगाडि पारसले आफूलाई निलम मन परेकाले आ–आफ्नो पत्नी साट्ने प्रस्ताव ढकाल सामू राखेको र ढकालले अस्वीकार गर्दा उनीहरूबीच हात हालाहालसम्म भएको भनेर समाचारहरू पनि आएको थियो ।

गायक ढकाल पत्नी निलम भने पारससँग घुम्दै बस्दै आएको र यो कुरा ढकाललाई मन नपरेकाले पछिल्लो समय उनीहरूको सम्बन्ध चिसिएको भन्ने तर्कहरू आइरहेको छ ।

अर्कोतर्फ सहकारीको ऋणले थिचिएकाले त्यसबाट बच्नका लागि उनीहरुले नक्कली डिभोर्स गरेको तर्क समेत सुनिएको छ । यसको एकिन जानकारी भने छैन ।

गायक ढकाल दम्पतीबीच सम्बन्धविच्छेद भएको कुरा आइरहँदा बिहीबार अपराह्न रामकृष्ण ढकालले आफ्नो फेसबुक वालमा स्टाट्स लेख्दै भनेका छन्, ‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ । कति गाए त्यो अंकमा गनेको पनि छैन । जीवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ ।’

‘सम्पूर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु । पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरू बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्’, उनले भनेका छन्, ‘त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरू प्रति खेद प्रकट गर्दछु ।’

‘सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन्’, उनले भनेका छन्, ‘व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ मप्रति चासो देखाउनु हुने मेरा सम्पूर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पूर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।’

‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन’, गायक ढकालले भनेका छन्, ‘आशा छ तपाईहरूको माया रहिरहने छ । सबैको दिन शुभ रहोस् !’

Published : Thursday, 2019 December 26, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया