तीन लाख लिन आएको गिरोहलाई बारा प्रहरीले छोप्यो

पथलैया । बारा प्रहरीले पथलैया वीरगञ्ज औद्योगिक करिडोर उद्योगहरूबाट डर धम्की दिएर अवैध असुली गर्ने आरोपमा चार जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले बिहीबार पत्रकार सम्मेलन गरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरूमा बम विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने चार जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका ४ का प्रमोद साह गोढ, देवशंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका २० का अच्छेलाल गोसाई र फेटा गाउँपालिका ३ का दीपेन्द्रकुमार धानुक रहेको एसपी खनालले बताए ।

पक्राउ परेका चारै जनाले परवानीपुरमा रहेका एमएस इट्टा उद्योगका सञ्चालकसँग १५ लाख रुपियाँ फिरौती मागेका थिए ।

फिरौती रकम नदिए ईटाभट्टा उद्योगमा बम विस्फोट गराई दिने धम्की दिएको उपरीक्षक खनालले बताएका छन् ।

कलैया उपमहानगरपालिका २५ घर भएका ईट्टाभट्टा संचालक मनोजप्रसाद साह तेलीलाई उद्योगमा विष्फोट गराउने धम्की दिएर फिरौती बापत ३ लाख रुपियाँ बुझ्न बाराको चैनपुर पुगेका अभियुक्तहरूलाई प्रहरीले रंगेहात पक्राउ गरेको उपरीक्षक खनालले बताएका छन् ।

बारा प्रहरीले व्यवसायीलाई धमकाएर पैसा असुल्ने अभियोगमा पक्राउ परेका प्रमोद साहलाई यस अघि पनि पर्सा प्रहरीले २०७३ चैत २८ गते वीरगंज महानगरपालिका वडा नम्बर–८ स्थित सडक खण्डमा एक थान पेस्तोेल र त्यसको तीन राउन्ड गोलीसहित पक्राउ गरी कारवाही गरेको उपरीक्षक खनालले बताए ।

बाराको परवानीपुरस्थित नारायणी आयल रिफाईनरीका संचालकसँग गत असोज २ गते फिरौती रकम माग गरेको र फिरौती रकम नदिएपछि पक्राउ परेका अभियुक्तहरूले उद्योगमा सुतली बम विस्फोट गराएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए ।

Published : Thursday, 2019 December 12, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया