बारा प्रहरीले कब्जा गर्‍यो अबैध ३५ लाख

निजगढ । बारा जिल्लामा प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन् ।

सोमबार अवैध हुण्डीको पैसा लिई ना २६ प १६४९ को मोटरसाईकलमा दुई जना व्यक्ति आउँदै गरेको सूचनाको आधारमा सुरक्षा प्रहरी वेसक्याम्प लंगडाचोक र प्रहरी विशेष ब्यूरोसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पचरौता नगरपालिका–८ लंगडाचोकमा मोटरसाइकल रोकेर चेक जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको उपरीक्षक खनालले बताए ।

मोटरसाईकल र मोटरसाईकलसवार दुबै जनालाई चेकजाँच गर्दा शरीरको विभिन्न भाग र साथमा रहेको ब्यागबाट ३५ लाख ५० हजार बरामद भएको उपरीक्षक खनालले बताएका छन् । बरामद गरिएको रकममा एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान रहको छ ।

पक्राउ परेका दुबै जनासँग पैसाको बारेमा स्रोत खुलाउन नसकेकाले उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको उपरीक्षक खनालले बताएका छन् ।

Published : Wednesday, 2019 November 20, 7:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया