कालीप्रसाद–सन्तोषको मिश्रणमा ‘उदास जवानी’ (भिडियाे)

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो ।

एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

वरिष्ठ संगीतकार दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । ‘अहिलेको समयमा लोभलाग्दो काम भएको छ’, उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ । मैले पनि यो काम गर्ने सोँच बनाएको छु ।’

वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा गरेका थिए ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै…’लाई कार्यक्रममा देखाइएको थियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

‘एक्लो उदास जवानी…’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै…’मा निशा देशारको स्वर रहेको छ । श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै…’, ‘बाँच्दै नबाँचे पनि…’, ‘मिसिएर दुइटा खोला…’ र ‘सामुन्नेमा उसलाई देख्दा…’ राखिएको छ ।

Published : Saturday, 2019 November 16, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया