‘भीआईपी ठग’लाई बचाउन कम्युनिस्ट निकट भूमिगत गिरोह सक्रिय

काठमाडौं । शान्ति सुरक्षा कायम गर्नुका साथै अपराधी र बद्मासहरूलाई नेपाल प्रहरीले ठेगान लगाइरहेका बेला ‘भीआईपी’ ठगहरूलाई बचाउन भूमिगत गिरोह सक्रिय भएको खुलासा भएको छ ।

हाउजिङ ठगी काण्डमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई बचाउन केही युवाहरू सक्रिय भएर लागेको स्रोतले जनाएको छ । रुप ज्योतिलाई काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति पक्राउ गरेर थुनामा लगेको थियो ।

रुप ज्योतिलाई बचाउन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सक्रिय भएर लागेको स्रोतको दाबी छ ।

प्रतीक र दीपेशले ‘भीआईपी ठग’ रुप ज्योतिलाई बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना गराई उजुरीकर्तासँग सेटिङ मिलाएर छुटाउने खेलखण्ड शुरु गरेका हुन् । यसका लागि ठूलो रकम चलखेल भएको उच्च स्रोतले जनाएको छ ।

यसअघि पनि प्रतीक र दीपेश विभिन्न काण्डमा मुछिएका थिए । उनीहरूको बारेमा बेलाबेला नकारात्मक समाचार आउने गरेका छन् । उनीहरू उच्च राजनीतिक नेतृत्वका छोराहरू भएका कारण कुनै कारबाही हुने गरेको छैन ।

प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि कसर बाँकी नराख्न प्रहरी प्रशासनलाई निर्देशन दिँदै आएका छन् ।

त्यति मात्रै होइन नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले समेत अपराधमा संलग्न कृष्णबहादुर महरा, मोहम्मदन अफ्ताव आलम लगायतलाई पक्राउ गरिसकेका छन् ।

काठमाडौं प्रहरीले पनि दशैँ र तिहारका बेला ठूला र भीआईपी जुवाडेहरूलाई पक्राउ गरेर कारबाही चलाएको छ ।

प्रहरीले अपराधमा संलग्नहरूलाई पक्राउ गरेर कारबाही चलाइरहेका बेला भूमिगत गिरोधहले यस्ता भीआईपी ठगहरूलाई बिरामी भएको बहानामा अस्पताल भर्ना गराएर मोटो रकम उठाउन गतिविधिमा संलग्न भएपछि चिन्ता बढाइदिएको छ ।

Published : Friday, 2019 November 8, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया