हेटौँडाको चर्चित काण्डका मोस्टवान्टेड बारामा पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रयासमा साढे छ वर्ष अगाडिको हेटौँडा एसिड काण्डका अभियुक्त पक्राउ परेका छन् ।

बारा जिल्लामा लुकीछिपी बसेको अवस्थामा भारतीय नागरिक दिलिप केसरीलाई प्रहरीले पक्राउ गरेर हेटौँडामा सार्वजनिक गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बरको ३ मेनरोडकी बिन्दवासिनी कंशाकारलाई भारतीय नागरिक दिलिपराज केसरीले तेजाप छ्यापेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालसँग समन्वय र सहयोगमा मकवानपुर प्रहरीले शुक्रबार भारतीय नागरिक दिलिपराज केसरीलाई बाराबाट पक्राउ गरिएको हो ।

०७० साल वैशाख ९ गते विन्दवासिनी कंसाकारलाई तेजाब प्रहार गरी दिलिपराज केसरी लुकिछिपी बस्दै आएका थिए ।

भारतको महाराजगंज अमर पसर्वन ६ निवासी दिलिपराज केशरीलाई बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खनालको निर्देशनमा प्रहरी नायव निरीक्षक सागर शम्शेर जबराको विषेश टोलीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीले केशरीलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

केशरीलाई शुक्रबार नै मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा पुगेकी पीडित विन्दबासिनी कंशाकारले भारतीय नागरिक दिलिपराज केसरीलाई आक्रमणको प्रयास गरेकी थिइन् । पीडित कंसाकारले आरोपी केसरीलाई हदैसम्मको कारबाही माग गरेकी छिन् ।

भारतीय नागरिक केसरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2019 November 1, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया