ललितपुरको ठेचोमा बलरामको ज्यान गएपछि दुई जना साथी पक्राउ

काठमाडौं । ललितपुर जिल्लामा साथीहरूको लापरवाहीका कारण एक जना युवकको ज्यान गएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२, ठेचो, दुरीखेलका ३५ वर्षीय बलराम केसीको बिहीबार पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

असोज १ गते बिहान साढे ११ बजे ठेचो बस्ने ३३ वर्षीय राजु महर्जन, बलराम केसी र २१ वर्षीय सुरोज परियार रक्सी सेवन गर्न प्रदेश ३–०२००९ प ११०५ नम्बरको पहेंलो रंगको स्कुटरमा नजिकैको खेतमा गई बसेको प्रहरीले जनाएको छ ।

रक्सी खाँदै जाँदा राति साढे सात बजेको समयमा बलराम केसी बेहोस भएका थिए ।

बलराम केसीलाई राजु महर्जन र सुरोज परियारले आगो बालेर टाउको मुखमा पानी छ्यापेर होसमा ल्याउन खोजेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बलराम केसी होसमा नआएपछि उनलाई सोही स्थानमा छोडेर राजु महर्जन र सुरोज परियार आ–आफ्नो घरतर्फ गएका थिए ।

बिहीबार बिहान साढे ७ बजे सोही स्थानमा बेहोस अवस्थामा भेटिएका बलराम केसीलाई उद्धार गरेर पाटन अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2019 September 19, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया