कम्युनिस्ट सरकारका गृहमन्त्रीका भाई छुटे अरु सबै जेल चलान

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

आपराधिक लाभ र संगठित अपराधमा संग्लन भएको आरोपमा नरेश थापा पक्राउ परेका थिए ।

थापासहित पक्राउ परेका समीरमान बस्नेत, पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी, शैलेश प्रजापति र विनोद लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । नरेश थापासँग अदालतले एक लाख धरौटी माग गरेको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्तका रुपमा पक्राउ परेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनमा जोडिएको भन्दै नरेशसहित सात जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा अगाडि बढाएको छ ।

ब्युरोले जेलभित्रैबाट समीरमानले दिएको सूचनाको आधारमा पवन खड्का, सुरेन नगरकोटीले फिरौती संकलनको योजना बनाएको र सोही क्रममा नरेशसँग बारम्बार भेटको उल्लेख गरेको छ ।

Published : Wednesday, 2019 September 18, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया