जोरपाटीमा भेटिए लुकेर बसेका रामेछापका हर्कबहादुर

काठमाडौं । रामेछाप जिल्ला घर घएका ३४ वर्षीय हर्कबहादुर तामाङलाई महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले ठगी अभियोगमा पक्राउ गरेको छ ।

हर्कबहादुर तामाङले तुर्किस्तान रोजगारीमा पठाइदिन्छु भनेर उमेशकुमार तामाङसँग तीन लाख लिएर फरार भएका थिए । उमेशकुमारको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गंगा गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको जोरपाटी बस्दै आएका ३४ वर्षीय हर्कबहादुर तामाङले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नं. ६ बस्ने उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्युरिटी कार्डमा जागिर लगाई दिने तीन लाख ठगी गरेर बेपत्ता भएका थिए ।

हर्कबहादुर तामाङले उमेशकुमार तामाङलाई मासिक १२ डलर तलव, खान र बस्न समेत कम्पनीले दिने प्रलोभन देखाई नक्कली टिकट समेत बनाई तीन लाख रुपियाँ ठगी गरी सम्पर्क बिहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले हर्कबहादुर तामाङलाई खोजतलास गर्दै जाने क्रममा भदौ १० गते जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा हर्कबहादुर तामाङले अन्य ४ जना समेतबाट जनही ३ लाखको दरले रकम लिई ठगी गरेको खुल्न आएको जनाइएको छ ।

Published : Wednesday, 2019 August 28, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया