काठमाडौंमा टोले गुण्डा ‘मुनाल’ हतियारसहित पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेकप्वाईन्टबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित टोले गुण्डा ‘मुनाल’ भनिने सुलभ लामालाई पक्राउ गरेको छ ।

शनिबार बिहान प्रहरीले ‘मुनाल’लाई पेस्तोल २ थान र गोली २० राउण्डसहित पक्राउ गरेको जनाएको छ ।

ललितपुर जिल्लाको कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाललाई प्रहरीले उच्च निगरानीमा राख्दै आएको जनाइएको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार ‘मुनाल’को साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

टोले गुण्डा ‘मुनाल’को साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरू भएको डायरी तथा कागजातहरू समेत प्रहरीले बरामद गरेको छ ।

‘मुनाल’लाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

पक्राउ परेका ‘मुनाल’ नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको नेकपाको कार्यकर्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Published : Saturday, 2019 August 17, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया